२३ साउन, पर्वत । गत आर्थिक बर्षमा पर्वतमा ९ वटा चितुवा मरेका छन् । आर्थिक वर्ष २०७९/०८० मा पर्वत जिल्लामा नौ वटा चितुवा मरेका हुन ।
डिभिजन वन कार्यालय पर्वतका डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीका अनुसार यी मध्येका सात वटालाई मृत अवस्थामा उद्धार गरिएको थियो। बाँकी दुई वटालाई जीवितै उद्धार गरिएको भए पनि उद्धार पश्चात् मरेका थिए। एक वर्षकै अवधिमा दुई वटा चितुवालाई जीवितै उद्धार गरेर बचाइएको छ।
२०७९ साउन १२ मा कुश्मा नगरपालिका–३ दुर्लुङमा एउटा, असोज ३ मा मोदी गाउँपालिका–भूकताङ्लेमा, माघ ६ गते पैयुँ गाउँपालिका–४ को टेल्टुङमा एक÷एक वटा चितुवा मृत भेटिएका थिए। यस्तै माघ ७ मा पोखरा–बागलुङ सडक खण्ड अन्तर्गत कुश्मा नगरपालिका–४ मा, फागुन १० मा कुश्मा–४ कै डम्डारे खोलामा भेटिएका चितुवा पनि मरेका छन्। फागुन १९ मा फलेवास नगरपालिका–२ थापाठानामा पोथी चितुवा, चैत २९ मा कुश्मा नगरपालिका–९ कटुवाचौपारीको देउपुजामा पोथी चितुवा, २०८० वैशाख ४ मा कुश्मा नगरपालिका–८ चुवामा चितुवाको बच्चा र २०८० जेठ ३२ मा फलेवास नगरपालिका–२ थापाठानामा चितुवाको बच्चा मृत अवस्थामा फेला परेका थिए।
पैयुँ गाउँपालिकामा मृत अवस्थामा फेला परेको चितुवालाई सव डिभिजन वन कार्यालय त्रिवेणी हुवासको परिसरमा र अन्यलाई डिभिजन वन कार्यालय कुश्माको परिसरमा पुरेर व्यवस्थापन गरिएको अधिकृत अधिकारीले बताए।
यस्तै २०७९ चैतमा सदरमुकाम कुश्मा बजार स्थित भण्डारी टोलमा घरभित्रै पसेको चितुवालाई जीवितै उद्धार गरिएको थियो। पहिले बारीको टनेलभित्र पसेको चितुवा मान्छेको भीड देखेपछि भाग्नलाई बाटो खोज्दा नजिकै रहेको ओमबहादुर रेग्मीको घरको भान्छा कोठामा पसेको थियो। डिभिजन वन कार्यालय पर्वतमा चितुवा नियन्त्रण गर्न सक्ने विशेषज्ञ टोली र आवश्यक उपकरण नभएपछि कास्कीबाट आएको टोलीले चितुवा नियन्त्रणमा लिएर पोखरा लगेको थियो।
त्यसअघि २०७९ सालकै मङ्सिरमा पनि जलजला गाउँपालिकाको वारी बेनीमा जीवितै उद्धार गरिएको एक चितुवालाई रुपन्देहीमा लगेर व्यवस्थापन गरिएको थियो । यो खबर सञ्जय रेग्मीले थाहा खबरका लागि लेख्नुभएको हो ।




