३० कार्तिक, पर्वत । नेपालमा बहुदल आएको ३२ बर्ष पुगेको छ । प्रजातन्त्रको लागि भएको पहिलो जनआन्दोलन ०४७ पछि देशमा बहुदलीय ब्यवस्थाको शुरु भयो । बहुदलीय ब्यवस्थाको उदयसंगै संसदीय निर्वाचनहरु भए । त्यसको १६ बर्ष अर्को आन्दोलन भयो । ०६२÷०६३ को आन्दोलन पछि गणतान्त्रीक र संघीय ब्यवस्था समेत देशमा लागू भयो । यी सवै राजनैतिक घटनाक्रम पछि अहिले देशमा लोकतान्त्रिक गणतान्त्रिक शासन ब्यवस्था लागू छ । यो ब्यवस्थामा बहुदलीय निर्वाचनमा प्रणाली र समानुपातिक निर्वाचन पद्धति समेत अबलम्बन भएको छ ।
बहुदल आएपछि देशमा ७ वटा निर्वाचन भए, २ दर्जन बढि प्रधानमन्त्रीहरु फेरीए । तर पनि देशले अपेक्षाकृत प्रगति गर्न सकेन । देशले स्थिर सरकार पाउन सकेन् । बहुदलीय ब्यवस्थाको ३२ बर्षमा १० बर्ष शसस्त्र क्रान्ती सहितको युद्ध पनि भयो । राजाले शासन सत्ता लिएर दलहरु माथि प्रतिबन्ध समेत लगाए । यस्ता घटनाक्रमबाट गुज्रीएको नेपाली राजनीतिको अहिले सातौ पटकको आम निर्वाचनको हामी संघारमा छौं ।
आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको एकै साथ निर्वाचन हुँदैछ । यो निर्वाचनमा बहुदलीय ब्यवस्था प्रतिको आघात भने देख्न सकिन्छ । सत्ताधारी ५ दल मिलेर निर्वाचनमा होमिएका छन् । ति सत्ताधारी दलको एउटै उद्देश्य छ प्रतिपक्ष एमाले पाटीलाई पराजय गर्ने । यो बेलामा राजनैतिक, आर्थिक विकासका कुनै पनि नारा र उद्देश्य छैनन् । सत्ताधारी गठबन्धनले निर्वाचन जिते आगामी ५ बर्षमा देशलाई कस्तो बनाउने भन्ने कुनै मार्गचित्र छैन । निर्वाचन सकिए लगतै कस्को नेतृत्वमा सरकार बन्ने को प्रधानमन्त्री हुने कुनै एजेण्डा छैन् । सत्ताधारी गठबन्धनको एजेण्डा नै एमालेलाई हराउनु छ ।
अर्को तर्फ एमालेले ५ बर्षेको लागि सम्बृद्धिको एजेण्डा बोके पनि संसद विघटनको गम्भिर आरोपलाई एमालेले चिर्न सकेको छैन् । एमालेले कहि एक्लै कहि राप्रपासंग तालमेल गरेर निर्वाचनमा होमिएको छ । उसले आगामी दिनमा केपी ओलीलाई नै भावी प्रधानमन्त्री तोकेको छ । यद्यपि एक्लै निर्वाचनमा होमिएको दलले बहुमत ल्याउने सम्भावना न्यून छ । अरु पाटीसंगको तालमेलमा सरकार बन्दा भावि प्रधानमन्त्री को भन्ने त्यहाँ पनि अन्यौल देखिन्छ ।
पर्वत जिल्लाको अवस्थामा पनि अन्यौलतापूर्वक निर्वाचनमा मतदाताहरुले मतदान हुने दिनको प्रतिक्षा गरेका छन् । निकै प्रतिस्पर्धात्मक मानिएको पर्वतको निर्वाचनमा पटक पटक धेरै पटक निर्वाचन लडेका अर्जुन जोशीसंग युवा नेता पदम गिरी दोस्रो पटक निर्वाचनमा होमिएका छन् । यो वीचमा स्वतन्त्र र राप्रपा पाटीले समेत आफ्नो पकड जमाउने प्रयास गरीरहेको छ ।
दलहरु चुनावी प्रचारप्रसारमा गाउँ अभियानमा जाँदा मतदाताहरुमा भने कुनै उत्साह छैन् । ३ कार्यकाल सांसद बनेका जोशीले गाउँको विकास गर्छु भनेका छन् । मतदाताहरुले विश्वास मानिरहेका छैनन् । ३ पटक नगरेको काम चौथो पटकका गर्छु भन्दा त्यो विषय तर्क संगत पनि देखिदैन् ।
अर्को तर्फ कोरोना र सरकार परिर्वतनले यथेष्ट विकास गर्न सकिएन भने एमाले नेता गिरी चुनावी प्रचार प्रसारमा छन् । नयाँ उमेदवारहरुको आागमन एउटै नेताको पटक पटकको उमेदवारी र राजनैतिक वितृष्णहरुबाट गुज्रीएको पर्वतको राजनैतिक सरगर्मी सेलाएको छ ।
निर्वाचन पछि हुने सरकार बनाउने र गिराउने खेलको चित्र मानसपटलमा खेलाएका मतदाताहरु उमेदवार गाउँ वस्तीमा पुग्दा उत्साहित छैनन् । मतदाताहरु स्थिर सरकार, आर्थिक सम्बृद्धिको यजेण्डा सफल बनाउन चाहन्छन् तर नेताहरु भने जनताको मत लिए पछि दलका नेताहरुको स्वार्थपूर्तिका लागि दौडधुपमा लाग्छन् । यसले नेपालको राजनैतिक प्रणाली माथि पनि प्रश्न चिन्ह् खडा हुने गरेको छ ।
समाचार विश्लेषण




