१२ कार्तिक, पर्वत । दलका उमेदवारहरु यति बेला चुनावी प्रचार प्रसारमा ब्यस्त छन । चुनावी एजेण्डा र नारा लिएर जनताको घर दैलोमा पुगेका उमेदवारहरुको आफ्नै आफ्नै नारा छन् । चुनावी एजेण्डा यस अघिका भन्दा यस पटकका फरक फरक छन् । सत्ताधारी ५ दलीय गठबन्धन एमाले विरोधी एजेण्डाका साथ चुनावी अभियानमा छ भने एमाले सम्बृद्धिको एजेण्डामा छ ।
चुनावी अभियान अन्तर्गत घरदैलोमा पुगेका एमालेका प्रतिनिधि सभाका उमेदवार पदम गिरीले पर्वतलाई सम्बृद्ध बनाउन आफूले देखेको सपना पुरा गर्न मत मागेका छन् । उनले जिल्लामा भएका ५ बर्षका विकास निर्माणको विस्तार लगाएका छन् । बाँकी कामहरु पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
उता, घरदैलो अभियानमा हिडेका कांग्रेसका प्रतिनिधि सभाका उमेदवार अर्जुन जोशीले भने एमाले र केपी ओलीलाई गाली गरे प्रतिगमनको खतरा भएका कारण आफूलाई मत मागेका छन् । संसद विघटन गरेका कारण संविधान संकटमा परेकाले गठबन्धनको आवश्यकता भएको भन्दै उनले गठबन्धनलाई जिताउन आग्रह गरे ।
जिल्लाका विकास निर्माणका थुप्रै काम बाँकी छन् । अझै धेरै बस्तीमा खानेपानीका धारा छैनन् । गाउँ पुग्न सडक अझै कच्चि छ । पुल नहुँदा बर्षातमा सवारी चल्न सक्दैनन् । स्वास्थ्य र शिक्षाको अभावका कारण गाउँका वस्तीहरु रित्तिएका छन् । गठबन्धन भने संविधान र लोकतन्त्र जोगाउन मत मागि रहेको छ । एमालेका उमेदवार गिरीले सम्बृद्ध पर्वत बनाउने प्रतिबद्धता गरेका कारण सवै पर्वतबासीले आफूलाई मत दिने विश्वास ब्यक्त गरेका छन् ।
आफू निर्वाचित भएको ५ बर्षको अवधिमा जिल्ला उल्लेख विकास निर्माणको काम भएको गिरीको दावी छ । गिरीले भनेका छन्– शालिजा, बाजुङ र आर्थर पुग्ने सडक पक्कि बनाउनु छ, पालिकामा बन्दै गरेका अस्पतालका भवन सम्पन्न गर्नुछ, निर्माणधिन र ग्रामीण सडक सम्पन्न गर्नुछ, रित्तिएका गाउँका वस्तीहरु भरिभराउ गर्नुछ ।
निर्वाचनको बेलामा दलहरुका आफ्ना आफ्ना चुनावी एजेण्डाहरु हुने गर्छन् । गठबन्धनको तर्फबाट उमेदवार बनेका जोशीले भनेका छन् – ओली प्रधानमन्त्री बन्दा प्रतिगमन भयो, संसद विघटन भयो । मौलिक अधिकारहरु खोसिए संविधान जोगाउने गठबन्धनले निर्वाचन जित्नुपर्छ । संसद अवरुद्ध गरेर भत्ता खानेलाई भोट दिनुहुन्न । संविधान र लोकतन्त्र जोगाउन गठबन्धनलाई भोट दिनुपर्ने जोशीको तर्क छ ।
फरक फरक चुनावी एजेण्डा बोकेर घरदैलो अभियानमा निस्किएका दुई उमेदवार मध्ये औसतमा गिरीलाई निर्वाचन सहज देखिन्छ । उनी दोस्रो पटक उमेदवार बनेका छन् । युवाहरु माझ लोकप्रिय गिरीले सांसद पदमा रहँदा जिल्लाको विकास र सुख दुःखका लागि गरेको भूमिका महत्वपूर्ण थियो । संसद भवनमा उनले सिमानामा पर्खाल लगाउन माग गरे भने, नागरिकता विधेयकको चर्को आलोचक बने, विकास निर्माणको कामको बिषयमा पटक पटक संसद भवनमा गिरीले आवाज उठाएका थिए ।
जोशी पनि लामो समय देखि राजनीतिमै सक्रिय रहेका कारण उनको चिनापरिचय पनि जिल्लाबासीका लागि नौलो भने होइन् । पटक पटक राजकीय भूमिकामा रहेका उनले निर्वाचनको लागि विगत देखि नै तयारी गरेका थिए । जोशीलाई भने १८ बर्षसम्म सांसद हुँदा जिल्लाको विकासको लागि महत्वपूर्ण भूमिका नखेलेको आरोप पटक पटक लाग्ने गरेको छ । जोशीले भने जिल्लाका यस अघिका सवै विकास निर्माण आफ्नै पहलमा भएको दावी गर्दै आइरहेका छन् ।




