१४ भदौ, पर्वत । नेपाली कांग्रेसले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उमेदवार चयन प्रक्रिया शुरु गरेको छ । कांग्रेसको प्रदेश सभा १ अन्तर्गत क्षेत्रीय कार्य समिति कार्य सम्पादन समितिको आज वसेको वैठकले आगामी निर्वाचनमा उमेदवार चयन प्रक्रियाको लागि आवेदन संकलन गर्ने निर्णय गरेको छ । अध्यक्ष राजकुमार क्षेत्रीले जारी गरेको सुचनामा नेपाली कांग्रेसको विधानमा उल्लेख गरिएको धारा ३२ को दफा ७ को उप दफा क बमोजीम आवेदन संकलन गर्ने कुरा उल्लेख छ ।
कांग्रेसको तर्फबाट पर्वत क्षेत्र न १ प्रदेश सभामा उमेदवार बन्न इच्छुक कांग्रेस नेताहरुले भदौ १४ गते दिनको १ बजे देखि भदौ १५ गते १ बजेसम्म रित बमोजीमको आवेदन फर्म भरेर क्षेत्रीय समितिमा निवदेन दिनुपर्नेछ ।
कांग्रेस पर्वत भित्र आन्तरीक रुपमा चरम गुटबन्दी मौलाई रहेको बेलामा आसन्न निर्वाचनमा उमेदवार चयन प्रक्रिया प्रभावित हुने आकलन गरिएको छ । संस्थापन पक्षले स्थानीय तहको निर्वाचनमा सवै आफू निकटलाई मात्र टिकट दिएका कारण कोइरला, गगन समूहले असन्तुष्टि राख्दै आइरहेका छन् । कांग्रेस पर्वतमा यति बेला पुराना अनुहार भन्दा नयाँ अनुहारले टिकट पाउनुपर्ने माग पनि उत्कर्षमा उठिरहेको छ ।
झण्डै २ दशक देखि नयाँ नेतृत्वले निर्वाचनमा लड्ने अवसर नपाएको भन्दै कांग्रेस नेताहरुले यस पटकको निर्वाचनमा नेतृत्व र पुस्ता दुवै हस्तान्तरण हुनुपर्ने माग गरिरहेका छन् ।
आगामी निर्वाचनमा प्रदेश सभा निर्वाचनमा को कस्ले दावी गर्नेहुनु त्यसको निक्यौल भदौ १५ गते १ बजेपछि मात्र हुने कांग्रेस श्रोत बताउँछ ।
उता, गठबन्धनको सहमति नटुंगीएका कारण पर्वतको कुन क्षेत्र माओवादी, समाजवादी वा अन्य दललाई पर्छ भन्ने टुंगो लागेको छैन् ।




