Print

सदरमुकाम कुश्माकै टान्सफर्मर असुरक्षित

१४ भदौ, पर्वत । विद्युत प्राधिकरणको लापरवाहीका कारण पर्वत जिल्लामा पटक पटक दुर्घटनाहरु हुने गरेका छन् । पछिल्लो तथ्यांक अनुसार १ बर्षमा ३ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइते हुनेहरु मध्ये कुश्मा बजारका ८ बर्षिया बालकको हात नै काट्नु परेको छ ।

कुश्मा नगरपालिका वडा न ४ मा रहेको विद्युतको टान्सफर्मरमा छुँदा उनलाई करेण्ट लागेको थियो । बजारको वीच भाग र सडक छेउमा रहेको टान्सफर्मर छुँदा ८ बर्षका सनम परियारलाई करेन्ट लागेपछि उनी वेहोस भएका थिए । उपचारको क्रममा उनको दाँया हात काट्नु परेको छ ।

विद्युत प्राधिकरणको पटक पटकको लापरवाहीका कारण जिल्लामा ठूलो मानवीय क्षती हुँदै आए पनि सम्बन्धित निकायको भने ध्यान जान सकेको छैन् ।
कुश्मा स्थित गुप्तेश्वर गुफा जाने बाटो छेउमा रहेको टान्सफर्मरको फेदमा करेण्ट प्रवाह हुँदा बालकलाई करेन्ट लागेको थियो ।

यस अघि विद्युत प्राधिकरणकै लापरवाहीका कारण जलजलाको धाइरिङमा १ जनाको मृत्यु हुनुका साथै धेरै घरहरुमा आगलागी भई मिटर जलेका थिए ।