२५ जेठ, पर्वत । मूख्य निर्वाचन अधिकृतको कार्यालयले आगामी जेठ ३१ गते जिल्ला समन्वय समितिको निर्वाचनको मिति तय गरेको छ । जेठ २७ गते उमेदवारी दर्ता पछि ३१ गते निर्वाचन गर्ने गरी कार्यालयले सुचना प्रकाशित गरीसकेको छ । स्थानीय तहमा स्थानीय पालिकाहरुको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिन भित्र जिल्ला समन्वय समितिको निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
संविधानको धारा २२० मा जिल्ला सभा र जिल्ला समन्वय समिति सम्बन्धित ब्यवस्था गरिएको छ । सोहि दफाको उप दफा ३ मा जिल्ला सभाले एक जना प्रमुख एक जना उपप्रमुख, कम्तिमा ३ जना महिला र कम्तिमा एक जना दलित वा अल्पसंख्यक सहित बढिमा ९ जना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्नेछ भन्ने कुरा उल्लेख छ । यसरी निर्वाचित जिल्ला समन्वय समितिले जिल्ला भित्रका गाउँपालिका र नगरपालिका वीच समन्वय गर्ने, विकास तथा निर्माण सम्बन्धि कार्यमा सन्तुलन कायम गर्न सोको अनुगमन गर्ने, जिल्ला रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिका वीच समन्वय गर्ने, प्रदेश कानून बमोजीमका अन्य कामहरु गर्ने कुरा उप दफा ७ मा उल्लेख गरिएको छ ।

जिल्ला समन्वय समितिलाई समन्वयात्मक रुपमा मात्र परिकल्पना गरिएका कारण कार्यकारिणी अधिकार भने संविधानले उल्लेख गरेको छैन् । यस्तो समिति गठनका लागि जिल्ला भरका सवै पालिका प्रमुख तथा अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्षले मतदान गर्न पाउने छन् । पर्वत जिल्लामा ७ पालिकाका १४ जना जिल्ला सभाका सदस्यहरु रहेका छन् । उनीहरुले नै निर्वाचित वडा सदस्यहरु मध्येबाट हुने उमेदवारलाई निर्वाचनमा मतदान गरी जिल्ला समन्वय समिति गठन गर्नेछन् ।
पर्वतमा एमालेका ७, कांग्रेसका ५ र माओवादीका २ गरी १४ जना जिल्ला सभा सदस्यहरु रहेका छन् । मतभार गठबन्धन तर्फ कांग्रेस र माओवादीको ७ र एमालेको पनि ७ भएकाले निर्वाचनमा मत बराबर हुन आकलन गरिएको छ । यस्तो निर्वाचनका लागि गठबन्धनको तर्फबाट प्रमुख पद माओवादी केन्द्रलाई दिने यस अघि नै कांग्रेसले सहमती गरीसकेको छ । माओवादीले प्रमुख र उपप्रमुख कांग्रेसले उठाउने गरी तयारी गरेको छ भने एमालेमा उमेदवार छनौट भईसकेको छैन् । एमालेमामा प्रमुख पदमा हर्क गुरुङ (राम्जा) र विष्णुराम विक (होश्राङदी)ले आकाक्षा राखेको एमाले श्रोतको भनाई छ । यद्यपि पाटीले आधिकारिक रुपमा निर्णय भने गरीसकेको छैन् । उता, माओवादी केन्द्रबाट सोम जिसीलाई प्रमुख पदमा अघि बढाउने गरी माओवादी केन्द्रले तयारी गरेको छ भने, कांग्रेसले आफ्ना उमेदवार छनौट गरीसकेको छैन् ।





