Print

दुर्लुङमा नागरिकसंग उम्मेदवार कार्यक्रम, गठबन्धनका उम्मेदवार भने अनुपस्थित

२६ वैशाख, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लङमा उमेदवारसंग नागरिकको दोहोरो सम्बाद कार्यक्रमको आयोजना गरिएको छ । दुर्लुङ समाज पोखराले आयोजना गरेको नागरिकसंग उमेदवार कार्यक्रममा जनताको प्रश्नको उत्तर दिनबाट भने गठबन्धनका उमेदवारहरु सहभागी भएनन् ।

वडाको विकासको लागि उमेदवारहरुको प्रतिबद्धता र जनताको अपेक्षा बुझनका लागि आयोजना गरिएको उक्त कार्यक्रममा नेकपा एमालेका उमेदवारहरु भने उपस्थित थिए । उनीहरुले सहभागी तथा आयोजकले सोधेका प्रश्नहरुको उत्तर दिए पनि गठबन्धनको तर्फबाट उमेदवार बनेका नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादीका उमेदवारहरु कार्यक्रममा उपस्थित नभएको आयोजकले जनाएको छ ।

दुर्लुङ समाज पोखराका अध्यक्ष बाबुराम शर्माको अध्यक्षतामा आयोजीत कार्यक्रमको सहजीकरण लक्षमण प्रसाद शर्माले गरेका थिए । कुलबहादुर गुरुङले स्वागत मन्तब्य राखेको कार्यक्रममा एमालेसंगै राप्रपाका उमेदवारहरुको पनि सहभागीता थियो ।

उमेदवारहरुले आफू जनप्रतिनिधि बनेपछि निपश्क्ष भएर जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाएका थिए । गठबन्धनको तर्फबाट अध्यक्ष पदको उमेदवार बनेका लेखबहादुर गुरुङ सहितको समूह भने कार्यक्रममा सहभागी नभएको आयोजकले जनाएको छ ।

कार्यक्रममा एमालेको तर्फबाट बडाअध्यक्षका उमेदवार तेजप्रसाद पाध्या सहित वडा सदस्यहरु तथा राप्रपाको तर्फबाट उपमेयरकी उम्मेदवार मानकुमारी गिरीको सहभागीता थियो ।