Print

पर्वतमा कांग्रेस कार्यकर्तालाई ६ पालिकामा मतदानको विकल्प

२५ वैशाख, पर्वत । स्थानीय तहको निर्वाचन आउन केहि दिन बाँकी छ । निर्वाचनको मिति वैशाख ३० गते तोकिएकाले दलहरु अहिले आफ्ना उमेदवार लिएर प्रचार प्रसारमा ब्यक्त छन् । निर्वाचनको संघारमा भने राजनैतिक दलहरुले गरेको गठबन्धनका कारण परिणाम कस्तो आउँछ भन्ने सर्वत्र चर्चाको विषय बनेको छ ।

एमालेको विरुद्धमा मोर्चाबन्दी गरेका माओवादी र कांग्रेसले अन्य साना दलहरु समेतको समर्थन प्राप्त गरेका छन् । देश भर जस्तै पर्वतमा पनि कांग्रेस र माओवादीको गठबन्धन छ । यो गठबन्धनमा जसपा, समाजवादी र जनमोर्चाको समेत समर्थन रहेको छ ।

गठबन्धनका कारण कांग्रेस कार्यकर्ताहरुले भने ६ वटा पालिकाहरुमा विकल्प पाएका छन् । जिल्ला भर १ पालिका प्रमुख र ५ उपप्रमुखमा आफ्ना उमेदवार नउठाएको कांग्रेसले ति पालिकाहरुमा माओवादी र समाजवादीलाई समर्थन गरेको छ । पाटीले अन्य पाटीलाई समर्थन गर्ने निर्णय गरे पनि कांग्रेस कार्यकर्ताहरु भने अरु पाटीको चिन्ह्मा मतदान गर्ने कुरामा सहमत हुन्छन् या हुन्न त्यो मतपरिणामले देखाउने छ ।

जिल्लाको कुश्मा नगरपालिकाको उपप्रमुखमा कांग्रेसको उमेदवार छैनन् । यस अघि दुवै पद जितेको कांग्रेले यस पटक उपप्रमुखमा माओवादीलाई समर्थन गरेको छ । कांग्रेस कार्यकर्ताहरुले यस पटक उपप्रमुखमा हँसिया हतौडामा भोट हाल्ने कि अरु चिन्ह्मा रोज्न पाउने भएका छन् ।

यसैगरी कांग्रेस कार्यकर्ताका लागि जलजला गाउँपालिकाको उपाध्यक्ष, मोदी गाउँपालिकाको अध्यक्ष, फलेवास नगरपालिकाको उपप्रमुख, महाशिला गाउँपालिकाको उपाध्यक्ष र विहादी गाउँपालिकाको उपाध्यक्ष पदमा आफ्नो उमेदवार नभएका कारण मतदानको विकल्प रोज्न पाउने भएका छन् ।

कांग्रेस र माओवादी वीचको गठबन्धन चित्त नवुझेका कार्यकर्ताहरुले अरु चिन्ह्मा समेत मतदान गर्न पाउने भएका हुन् । यस पटक ६ स्थानमा कांग्रेसले आफ्नो उमेदवार नै उठाएको छैन् ।