Print

सिद्धान्त नमिल्ने गठबन्धनलाई कार्यकर्ताले भोट हाल्दैनन : केन्द्रिय सदस्य गिरी

१९ वैशाख, पर्वत । नेकपा एमालेका केन्द्रिय सदस्य पदम गिरीले सिद्धान्त नमिल्ने ५ दलीय गठबन्धनलाई कार्यकर्ताले भोट नहाल्ने जिकिर गरेका छन् । जिल्लाको मोदी गाउँपालिकाको भुकमा आयोजीत चुनावी प्रचार प्रसार अभियानमा बोल्दै नेता गिरीले सैद्धान्तिक रुपमा फरक धुव्रका राजनैतिक दलहरुको गठबन्धन क्षणिक भएकाले कार्यकर्ताले मतदान नगर्ने जिकिर गरेका हुन् ।

एका तर्फ विपीको तस्विर अर्को तर्फ माक्र्सको तस्विर एकै ठाउँमा राखेर कार्यकर्ताले मत नहाल्ने उनले बताएका छन् । कम्युनिष्ट विचारधारा र प्रजातान्त्रिक समाजवादको विचारधारा एक आपसमा तुलना गर्न नसुहाउने भएकाले यस्तो क्षणिक गठबन्धनमा कार्यकर्ताको कुनै उत्साह नरहेको गिरीले बताए ।

संघीय सांसद समेत रहेका गिरीले अस्वभाविक गठबन्धन गरेर देउवाले सत्ता टिकाउने खेलमा लागेको भन्दै इमान्दार कार्यकर्ताहरुले सूर्य चिन्ह्मा मतदान गरी देउवाको स्वच्छाचारीतालाई उत्तर दिनुपर्ने धारणा राखे ।

उनले पर्वत जिल्लाको विकास निर्माणको धेरै हिस्सा एमालेले भागमा रहेको उल्लेख गर्दै मोदी गाउँपालिकाको विकासको लागि पनि एमालेका उमेदवाहरुले जित्नुपर्ने धारणा राखे । उनले गठबन्धनको नाउँमा महिला माथि विभेद हुने गरी अध्यक्ष र उपाध्यक्षमा कुनै पनि उमेदवार नउठाएको भन्दै सम्पूर्ण महिला दिदिवहिनीहरुले त्यसको उत्तर मतदातबाट दिनुपर्ने तर्क गरे ।

कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य एव्म मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेल, अध्यक्ष पदका उमेदवार हिरादेवी शर्मा, उपाध्यक्ष पदका उमेदवार बिमल लामिछानेले एमालेको पक्षमा मत मागेका थिए ।