१९ वैशाख, पर्वत । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा पर्वत जिल्लाका सवै गाउँ वस्तीहरुमा चुनावी सरगर्मी बढेको छ । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ । दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा पर्वत जिल्लामा ८ सय ६० जना उमेदवार छन् ।
३१९ पदका लागि हुन लागेको निर्वाचनमा २ जना यस अघि नै निर्विरोध निर्वाचित भईसकेका छन् । बाँकी ३१७ पदका लागि हुने निर्वाचनमा राजनैतिक दल र स्वतन्त्र उमेदवारहरु यति बेला मत माग्न जनताको घरदैलो अभियानमा छन् ।
जिल्लामा नेकपा एमालेले एक्लै निर्वाचनमा होमिएको छ भने कांग्रेस माओवादीको सहारामा निर्वाचनमा होमिएको छ । कांग्रेस र माओवादी वीचको गठबन्धनले साझा उमेदवार खडा गरको छ । अन्य दलहरु समाजवादी, जसपा, जनमोर्चा, राप्रपा लगाएतका दलहरुले आफ्ना आफ्ना उमेदवार खडा गरी निर्वाचनमा होमिएका छन् ।
सवै राजनैतिक दलहरुले आफ्ना घोषणापत्र सार्वजनिक गर्दै जनतासंग मत मागेका छन् । निर्वाचनलाई प्रभावित हुने गरी भड्किलो प्रचार शैली नगर्न निर्वाचन आयोगले जारी गरेको आचार संहिताका कारण निर्वाचन प्रचार प्रसार केहि भद्र भने राजनैतिक दलहरुले देखाएका छन् ।
जिल्लाका ७ पालिका र ६१ वडाहरुमा निर्वाचनको सरगर्मी बढेर गएको छ । जिल्लाका २ नगरपालिकाका प्रमुखमा यस अघिका नगरप्रमुख पुनः दोहोरिएका छन् । कुश्मामा रामचन्द्र जोशी कांग्रेसको तर्फबाट मेयर पदका उमेदवार छन् भने फलेवासमा पदमपाणी शर्मा एमालेको तर्फबाट मेयर पदका आकांक्षी छन् । बाँकी पालिकाहरुमा सवै नयाँ अनुहार निर्वाचनमा होमिएका छन् ।




