Print

एमाले र गठबन्धन वीच यसरी हुँदैछ पर्वतमा प्रतिस्पर्धा

१६ वैशाख, पर्वत । नेकपा एमाले र सत्ता गठबन्धन वीच पर्वतमा निर्वाचन हुने निश्चित भएको छ । सत्ता गठबन्धनका कांग्रेस र माओवादीसंग एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । सत्ता गठबन्धनका बाँकी दलहरु गठबन्धनबाट बाहिरएका छन् । एमाले विना चुनावी तालमेल पर्वतमा एक्लै चुनावी मैदानमा छ । कांग्रेस र माओवादी भने एक आपसमा गठबन्धन गरेर निर्वाचनमा होमिएका छन् ।

सत्ता गठबन्धनसंगै भएका कारण कांग्रेस र माओवादीले गठबन्धन गरेका छन् । अर्को तर्फ, जिल्लामा एमालेको आधार भूमि बलियो भएका कारण पनि दलहरु एक्ला एक्लै एमालेसंग चुनावी मैदानमा उत्रन नसकेका हुन् ।

कुश्मा नगरपालिकामा एमालेले गणेश शर्मा पौडेल र स्वाथानी रिजाललाई चुनावी मैदानमा उतारेको छ । भने काग्रेसले रामचन्द्र जोशी र माओादीका शंकर गिरीलाई चुनावी मैदानमा उतारेको छ । नगरप्रमुख पदमा पौडेल र जोशी वीच प्रतिस्पर्धा हुँदैछ भने उपप्रमुख पदमा रिजाल र गिरी वीच प्रतिस्पर्धा हुँदैछ ।

साविक निर्वाचनमा दुई तिहाई बहुमत सहितको सिट एमालेले जितेको कुश्मा नगरपालिकामा नगरप्रमुख र उपप्रमुख भने कांग्रेसले जितेको थियो । जोशी नगरपालिकाका संस्थापक नगरप्रमुख हुन् । यस पटक भने कांग्रेस एक्लै निर्वाचनमा होमिँदा एमाले बलियो शक्ति बनेका कारण निर्वाचन जित्ने निश्कर्ष सहित कुश्मा नगरपालिकामा कांग्रेसले माओवादीसंग गठबन्धन गरेको हो ।

कुश्मा नगरपालिका भित्रका वडाहरुमा समेत माओवादी र कांग्रेस वीच भागबण्डा भएको छ ।

फलेवास नगरपालिकामा एमालेले नगरप्रमुख पदमा पदमपाणी शर्मा र उपप्रमुख पदमा मञ्जु अधिकारीलाई अघि सारेको छ । उता गठबन्धनको तर्फबाट भने कांग्रेसका गंगाधर तिवारी र उपप्रमुखमा माओवादीबाट शोभा क्षेत्री निर्वाचनमा होमिएका छन् ।

साविक निर्वाचनमा एउटा बाहेकका सवै वडा, नगरप्रमुख र उपप्रमुखमा विजयी भएको एमालेको शक्तिलाई क्षीण बनाउन कांग्रेस र माओवादीको गठबन्धन फलेवासमा देखिएको छ ।

जिल्लाको जलजला गाउँपालिका कांग्रेसका आधार भूमि मानिन्छ तर पनि उक्त गाउँपालिकामा पनि कांग्रेस माओवादीसंगको गठबन्धनमा जोडिएको छ । साविक निर्वाचनमा बहुमत वडाहरु सहित पालिका अध्यक्ष र उपाध्यक्ष जितेको कांग्रेसले अहिले माओवादीसंग भागबण्डा गरेको छ । कांग्रेसका राजु आचार्य अध्यक्ष पदमा र माओवादीका दिपक आचार्य उपाध्यक्ष पदमा चुनावी मैदानमा देखिएको छन् ।

एमालेले भने लालबहादुर अधिकारी र सुनिता जिसीलाई अध्यक्ष तथा उपाध्यक्ष पदमा चुनावी मैदानमा झारेको छ ।

जिल्लाको मोदी गाउँपालिका एमालेको आधार इलाका हो । साविक निर्वाचनमा १ वटा वडा बाहेक सवै वडाहरु, अध्यक्ष र उपाध्यक्ष समेतमा विजयी भएको एमालेले हिरादेवी शर्मालाई अध्यक्ष र बिमल लामिछानेलाई उपाध्यक्ष पदमा अघि सारेको छ ।

उता, गठबन्धनले भने माओवादीका गुप्त हमाल र कांग्रेसका जीवन प्रसाईलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको छ ।

जिल्लाको पैयू गाउँपालिका पनि कांग्रेसको बलियो क्षेत्र हो तर, यस पटक उक्त पालिकामा पनि कांग्रेस माओवादीसंग गठबन्धनमा छ । साविक निर्वाचनमा बहुमत वडाहरु सहित पालिका अध्यक्ष र उपाध्यक्ष जितेको कांग्रेसले अहिले राजमल्ल ठकुरीलाई अध्यक्ष र उपाध्यक्ष पदमा जानकी प्रधानलाई अघि सारेको छ । एमालेले महेन्द्र श्रेष्ठ र यामकुमारी रानालाई चुनावी मैदानमा उतारेको छ ।

एमालेले साविकको निर्वाचन जितेको पालिका अध्यक्ष र उपाध्यक्ष पदमा विहादी गाउँपालिकामा यस पटक एमालेले ओम कुँवर र मिना तिवारीलाई अघि सारेको छ । कांग्रेसले भने प्रविन गुरुङलाई अध्यक्ष र माओवादीका सन्तबहादुर गुरुङलाई उपाध्यक्ष पदमा उठाएको छ ।

महाशिला गाउँपालिकामा साविकको निर्वाचनमा दुई तिहाई बहुमत सहित एमालेले जित निकालेको थियो ।

अहिले उक्त गाउँपालिकामा आध्यक्ष पदमा ईश्वरी भुषाल र उपाध्यक्ष पदमा धनसुवा विकलाई अघि सारेको छ । कांग्रेसले गठबन्धन गर्दै अध्यक्ष पदमा अशोक उचै ठकुरी र उपाध्यक्ष पदमा नेकपा समाजवादीले विराज हमाललाई अघि सारेको छ ।

७ वटै पालिकाहरुमा तिव्र प्रतिस्पर्धा हुने देखिए पनि गठबन्धन गरिएका पालिकाहरुमा कांग्रेसका सवै मतहरु माओवादीका उमेदवार जाने सम्भावना कम छ । कांग्रेस कार्यकर्तामय माओवादीसंगको गठबन्धन रुचिकरको विषय बनेको छैन् । अधिकांश ठाउँमा कांग्रेसका बागी उमेदवार उठेका छन् भने कार्यकर्ताहरु कम्युनिष्ट पाटीसंगको एकतामा असन्तुष्ट बन्दै आएका छन् ।