Print

पर्वतमा फुट्यो गठबन्धन, जनमोर्चा पछि जसपा पनि बाहिरियो

१२ वैशाख, पर्वत । सत्तारुढ गठबन्धन पर्वतमा भत्किएको छ । ५ दलीय गठबन्धनबाट पर्वतमा २ वटा दलहरु बाहिरिएका छन् । हिजो मात्रै जनमोर्चाले गठबन्धन तोडेर आफ्ना उमेदवारहरु पालिकामा उठाएको थियो । आज जनता समाजवादी पाटी (जसपा) ले पनि आफ्ना उमेदवारलाई उठाउने तयारी गरेको छ । गठबन्धनमा ठूलो दल कांग्रेसले सिट बाँडफाँडमा अपहेलना गरेपछि जनमोर्चा र जसपा बाहिरिएका हुन् ।

आज जसपाले उमेदवार दर्ता गराउने तयारी गरेको छ । कुश्मा नगरपालिकामा जसपाको तर्फबाट ढाकाराम गौतम, उपप्रमुखमा इन्दिरा अधिकारीलाई उठाउने तयारी गरेको छ ।

यसैगरी कुश्मा १०को वडा अध्यक्षमा मोहदत्त अधिकारी, ११ नम्बर वडामा सुनिल पौडेल, वडा न १४ मा डिलबहादुर नेपालीलाई उठाउने तयारी छ ।

उता, मोदी गाउँपालिकाको अध्यक्षमा डम्मर क्षेत्री र उपाध्यक्ष राधा कुँवरलाई उठाउने निर्णय भएको जसपाकी जिल्ला अध्यक्ष देवी लामिछानेले जानकारी दिईन ।
हिजो मात्रै गठबन्धन गरेर जाने सहमती पत्रमा हस्ताक्षर गरेको पर्वतको जनमोर्चा उमेदवारी दर्ताको पहिलो दिन नै आफ्नो पाटीको तर्फबाट उमेदवारी दर्ता गराएको हो ।

फलेवास नगरपालिकामा राष्ट्रिय जनमोर्चावाट इन्द्रकान्त शर्माले प्रमुखमा र सरिता भुसालले उपप्रमुखमा उम्मेदवारी दिएका छन् । सत्ता गठवन्धनप्रति असन्तुष्टि जनाउँदै उहाँले उम्मेदवारी दर्ता गरेकी हुन् । फलेवास नगरपालिकामा जनमोर्चाको अरु पालिकामा भन्दा बढि उपस्थिती छ ।

वडा नं ६ मा राष्ट्रिय जनमोर्चावाट अध्यक्ष सहित पाँचै जनाको उम्मेदवारी दर्ता भएको छ ।

त्यसैगरी कुश्मा नगरपालिका वडा नं १२ ठुलीपोखरीबाट राष्ट्रिय जनमोर्चाको तर्फवाट १ जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन ।