Print

महाधिवेशन प्रतिनिधि निर्वाचन : को होला पहिलो नम्बर ?

५ मंसीर, पर्वत । नेपाली कांग्रेसको आसन्न महाधिवेशनलाई लक्षित गरी भोली पर्वत जिल्लामा महाधिवेशन प्रतिनिधि चयन हुँदैछन् । नेपाली कांग्रेसले पर्वत जिल्लाबाट २५ जना महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । भोली नै कांग्रेसको जिल्ला अधिवेशन समेत हुँदैछ । जिल्ला अधिवेशन र महाधिवशेन प्रतिनिधि चयनको प्रक्रिया एकै दिन शुरुवात गर्न लागेको कांग्रेस भित्र उमेदवारहरुले आफ्नो उमेदवारी सार्वजनिक गर्ने क्रम बढेर गएको छ ।

जिल्ला अधिवेशनका लागि जिल्ला पदाधिकारी र महाधिवेशन प्रतिनिधिका लागि उमेदवारहरुले आफ्नो उमेदवारी सार्वजनिक गरीरहेका छन् । सभापति पदमा अहिलेसम्म औपचारिक रुपमा कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, नेविसंघका जिल्ला अध्यक्ष मिलन सुवेदी र दुर्गाबहादुर खत्रीले उमेदवारी सार्वजनिक गरेका छन् ।

यी अनुहार बाहेकका नेताहरुले पनि उमेदवारी दिने सम्भावना पनि छ ।

अर्को तर्फ महाधिवेशन प्रतिनिधिका लागि जिल्लामा नेताहरुले आफ्नो उमेदवारी सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरीरहेका छन् ।

खुल्ला पुरुष तर्फ रामचन्द्र जोशीको उमेदवारी सार्वजनिक भएको छ । उनी कुश्मा नगर कमिटिका पूर्व अध्यक्ष तथा कुश्मा नगरपालिकाका प्रमुख हुन् । जोशीसंगै महाधिवेशन प्रतिनिधिमा विद्धान गुरुङ, ऋषीकेश तिवारी, नवराज गुरुङ, लालकाजी गुरुङ, राजेन्द्र तिवारी, विश्व प्रकास प्रसाई, बसन्त सिके, बिमलराज क्षेत्री, शिव शर्मा अधिकारी, विप्लब हमाल, राज मल्ल ठकुरी, किरण तिवारी, हेमराज सापकोटा, डा. केदार सुृवेदी लगाएतले पनि उमेदवारी सार्वजनिक गरेका छन् ।

यसैगरी खुल्ला महिला तर्फ ७ जना मध्ये राधाकुमारी कुवँर, मुना भुषाल, रेखा गुरुङ, सरस्वती शर्मा, मिना केसी, सिता काप्ले, मिना कर्माचार्य, माया अधिकारी, मुना शर्मा लामिछानेले आफ्नो उमेदवारी सार्वजनिक गरेका छन् ।

अल्पसंख्यक मुस्लिम समुदायबाट सनम वेगमको उमेदवारी सार्वजनिक भएको छ ।

को होला पहिलो नम्बर ?

महाधिवेशन प्रतिनिधिका लागि हुने निर्वाचनमा जिल्ला भरका झण्डै १२ सय प्रतिनिधिले मतदान गर्नेछन् । मतदान मार्फत केन्द्रिय महाविधेशन प्रतिनिधि चयनको सन्दर्भमा पहिलो नम्बरमा को आउँला भन्ने चासो शुरु भएको छ । खुल्ला पुरुष तर्फ उमेदवार बनेकाहरु मध्ये लोकप्रीय नेताले अत्याधिक मत ल्याउने अनुमान गर्न सकिन्छ ।
जस मध्ये पहिलो नम्बरमा कांग्रेस नेता रामचन्द्र जोशी पर्दछन् । कुश्मा नगरपालिकाका मेयर जोशी मनकारी मेयरको रुपमा पनि परिचित छन् । आफू मेयर भएपछि आफूले प्राप्त गरेको तलब रकमले गरिब, विपन्न वर्गलाई सहयोग गरेपछि उनलाई मिडियाले मनकारी मेयरको संज्ञा दिएको थियो । जोशी तुलनात्मक रुपमा कांग्रेस भित्र लोकप्रिय नेताको रुपमा परिचित छन् ।

पाटीको आन्तरीक शक्ति संघर्षमा पौडेल पक्षधर भनेर चिनिने जोशीलाई यस अघि जिल्ला सभापतिको उमेदवारको रुपमा समेत हेरिएको थियो । जोशीले आज मात्रै सामाजिक सञ्जालमा केन्द्रिय महाधिवेशन प्रतिनिधिको रुपमा आफ्नो उमेदवारी सार्वजनिक गरेका छन् । लोकप्रिय नेताको रुपमा पहिलो नम्बरमा निर्वाचनमा धेरै मत ल्याउनसक्ने नेताको रुपमा जोशीलाई हेरिएको छ ।

यसैगरी खुल्ला तर्फ लालकाजी गुरुङ वर्तमान प्रतिनिधि सभाका वहालवाला सांसद हुन । उनी कांग्रेसका पूर्व जिल्ला सभापति समेत हुन् । समानुपातिक तर्फबाट उनी सांसद बनेका हुन् । बहालवाला सांसद समेत भएका कारण गुरुङको पनि मत संख्या धेरै हुनसक्ने अनुमान गर्न सकिन्छ ।

अर्को तर्फ तरुण दलका केन्द्रिय कोषाध्यक्ष विद्धान गुरुङ, शिक्षक आन्दोलनबाट आएका बसन्त सिके तथा पूर्व सांसद ऋषीकेश तिवारी र पूर्व सभापति नवराज गुरुङ पनि महाधिवेशन प्रतिनिधिमा बलिया उमेदवार हुन् ।

एता, महिला तर्फ भने यस अघि महाधिवेशन प्रतिनिधि भइसकेकी राधाकुमारी कुँवरको चर्चा सामाजिक सञ्जालमा पनि देखिएको छ । कुँवर महिला तर्फबाट धेरै मत ल्याउन सक्ने बलियो दावेदारको रुपमा हेरिएको छ । महिला तर्फ मुना भुषाल, सिता काप्ले र मुना शर्मा लामिछानेलाई पनि बलियो दावेदारको रुपमा लिन सकिन्छ ।
महाधिवेशन प्रतिनिधिमा २५ जना निर्वाचित हुनेछन् । २५ सिटका लागि भने आकाक्षीहरुको संख्या दोब्बर भन्दा बढि देखिएको छ ।