Print

एमालेको महाधिवेशन प्रतिनिधि चयनका लागि आज पर्वतमा उमेदवारी दर्ता हुँदै

२५ कार्तिक, पर्वत । नेकपा एमालेको आगामी १० औं महाधिवेशन प्रतितिधिका छनौटको लागि आज पर्वतमा उमेदवारी दर्ता हुँदैछ । आज दिनको १० बजे देखि बेलुका ५ बजेसम्म उमेदवारी दर्ताको लागि समय निर्धारण गरिएको छ ।

प्रतिनिधि चयनका लागि एमालेले अधिवक्ता चन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा निर्वाचन समितिको गठन गरेको छ । जिल्ला पाटी कार्यालयमा उमेदवारी दर्ता हुनेछन् । आज वेलुका ६ बजे उमेदवारहरुको अन्तिम सुचि प्रकाशन हुनेछ । दावाविरोध र उमेदवारी फिर्ताको लागि भोलिसम्मको समय निर्धारण गरिएको छ । भोलीसम्म सर्वसहमत नभए पर्सि २७ गते मतदान हुनेछ ।

सचिवालय वैठकले प्यानल बनाएर निर्वाचनमा भिड्न नपाईने तथा मतदाताले आफ्नो परिचय खुल्ने कागजातहरु मतदान स्थलमा ल्याउनुपर्ने नियम बनाएको छ । एमालेको १० औं महाधिवेशनमा पर्वत जिल्लाबाट कुल १३ जना प्रतिनिधि सहभागी हुन पाउनेछन् । ति प्रतिनिधिहरु जिल्ला भरका एमालेका कुल ६ हजार ७ सय ६० जना सदस्यहरुले मतदान गरेर छान्नेछन् । एमालेको सचिवालय वैठकले सकभर सर्वसहमत रुपमा प्रतिनिधि चयन गर्ने कुरामा जोड दिएको छ । निर्वाचनको प्रक्रिया लामो र झन्झटिलो समेत हुने हुँदा एमालेमा एकताको सन्देश दिने गरी निर्वाचन विना नै प्रतिनिधि चयन गर्ने गरी नेताहरु भने आन्तरीक तयारीमा जुटेका छन् । जिल्लाबाट खुल्ला पुरुष तर्फ ७ जना खुल्ला महिला तर्फ ३ जना महाधिवेशन प्रतिनिधिको रुपमा छनौट हुनेछन् ।

यसैगरी दलित तर्फबाट भने २ जना पुरुष र १ जना महिला सहभागी हुन पाउनेछन् । एमालेले जिल्ला भरका कुल पाटी सदस्यहरुबाट नै महाधिवेशन प्रतिनिधि छनौट गर्ने विधानमा उल्लेख छ । आगामी २७ गते पर्वत जिल्लामा प्रतिनिधि छनौटको कार्य तालिका रहेको छ ।