Print

मध्यपहाडी सडक अवरुद्ध : धौलागिरी क्षेत्रमा आयात रोकियो, इन्धनको अभाव

२१ भदौ, पर्वत । मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा पहिरोका कारण विगत ४ दिन देखि बन्द छ । अविरल बर्षातसंगै पर्वत खण्डका विभिन्न भागमा गएको पहिरोका कारण यातायात सेवा बन्द भएपछि यो क्षेत्रमा आयात पूर्ण रुपमा प्रभावित भएको छ । आयात प्रभावित हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा भित्रने सवै सवारी साधनहरु अलपत्र परेका छन् । सवारी साधनहरु अलपत्र परेसंगै खाद्यन्न र इन्धनको आयात पनि रोकिएको छ ।

बाटो खुलाउने प्रयास भइरहेको र मंगलबार साँझसम्म एकतर्फी सडक सञ्चालन गर्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रमुख मेघराज मरासिनीले बताएका छन् । चुवा खण्डको पहिरो हटे पनि भ्याप्ले खण्डमा ठूलो पहिरो गएका कारण त्यहाँ बम विस्फोटको तयारी कार्यायलले गरेको छ । बम विस्फोट गरी पहिरो खुलाउने कार्यमा मौसमले साथ दिए मंगलबार साँझसम्म एक तर्फी सवारी साधन सञ्चालन हुनेछन् ।

एता, आयात रोकिँदा बजारमा इन्धनको अभाव देखिएको छ । पेट्रोल र डिजेलको आयात ४ दिन देखि भएको छैन् । कतिपयले सडक लामो समय नखुल्ने भएका कारण स्टक पनि गरेका कारण इन्धनको अभाव हुन थालेको ब्यवसायीको भनाई छ । सडक एकतर्फी खुलेमा आयात तत्काल सहज हुनेछ । अहिले धौलागिरी क्षेत्रका सवै जिल्लामा तरकारीको मूल्य पनि बढेको छ ।