Print

पर्वतमा कोरोनाको दर ह्वातै घट्यो, अस्पतालका वेडहरु रित्तिदै

५ असार, पर्वत । जिल्लामा पछिल्लो साता कोरोना संक्रमणको दर ह्वातै घटेको छ । क्रमशः उकालो लागेको संक्रमीतहरुको संख्या पछिल्लो सातामा भने ह्वातै घटेको हो ।

 पर्वत अस्पतालका निमिक्त प्रमुख डा. ढुण्डिराज पौडेलका अनुसार अहिले पर्वत अस्पतालमा २ जना संक्रमीतहरु उपचाररत छन् । कुल ३१ वेडको अस्पतालमा अहिले २ जना मात्र विरामी उपचार गराईरहेको डा. पौडेलको भनाई छ ।

अधिकतम १७ जनासम्म विरामीहरु रहेको अस्पतालमा त्यो संख्या घट्दै गएर अहिले न्यून विरामी उपचाररत रहेको अस्पतालले जनाएको छ । कोभिड संक्रमणको दोस्रो लहर शुरु भएसंगै पर्वत अस्पतालमा मात्रै उपचाररत ४ जनाको मृत्यु भएको थियो । अहिले दैनिक परिक्षणका लागि आउनेहरुमा पनि संक्रमण नदेखिएको डा. पौडेलले जानकारी दिए ।


‘संक्रमणको दर उच्च रहेको बेलामा ज्वरो, रुघा खोकी लागेका अधिकांशमा संक्रमण पुष्टि हुने गरेको थियो’ पर्वत न्यूजसंग डा. देवकोटा भन्छन्–‘अहिले ज्वरो, रुघा खोकीका विरामीमा पनि संक्रमण देखिएको छैन ।’ ज्वरो सहितका विरामीहरु उपचारका लागि आएकोमा उनीहरुमा सिजिनल फ्लू रहेको पुष्टि हुँदै गएको डा. पौडेल बताउँछन् । यो तथ्यांक हेर्दा नै संक्रमणको दर न्यून हुँदै गएको अस्पतालका डा. पौडेलको भनाई छ ।


स्वास्थ्य कार्यालयका अनुसार जिल्ला भर नै कुल ६ जना विरामी आइसोलेसन अस्पतालमाहरुमा उपचाररत छन् । जेठको अन्तिम साताबाट संक्रमणको दर ओरालो लाग्दै गएको देखिन्छ । कुल ५३ जना मृत्यु भएकोमा अहिले विगत ५ दिनदेखि मृत्यु दर पर्वतमा शुन्य देखिएको छ ।