२३ जेठ, पर्वत । २०५४ सालमा स्थानीय निकायको निर्वाचन सम्पन्न भयो । निर्वाचनले ०४९ सालका जनप्रतिनिधिलाई विस्थापीत गर्दै नयाँ जनप्रतिनिधि चयन गर्यो । आजभन्दा २४ बर्ष अघि स्थानीय निकायमा आएका जनप्रतिनिधिहरुले पर्वत जिल्लामा विकास निर्माणको खाका कोरेका थिए ।

सडक सञ्जालको विकासमा पर्वत जिल्लाले विक्रम सम्बत् २०४९ सालमा पहिलो अनुभव गरेको थियो । चीन सरकारले खनेको पोखरा बागलुङ सडक अन्तर्गतको खण्ड पर्वत हुँदै जाँदा पर्वतमा पहिलो पल्ट आज भन्दा २९ बर्ष अघि सडक आइपुगेको थियो ।
मुख्य सडक राजमार्गको रुपमा पोखरा बागलुङ रहे पनि ग्रामीण क्षेत्रमा सडक सञ्जालको सुधार भने पहिलो पल्ट २०५४ सालबाट भएको देखिन्छ । जिल्लाकै पहिलो सडकको रुपमा दोविल्ला फलेवास सडक खनिएको थियो । यो सडक पछि २०५४/५५ सालमा हिलेखोला कार्किनेटा हुँदै लुंखु सडकको विस्तार गरियो । सडक सजालमा पहिलो पल्ट ग्रामीण क्षेत्रमा सवारी सञ्चालन हुने सडक भने यहि सडक हो । स्याङजा देखि कार्किनेटा हुँदै लुंखुसम्मको सडक पुरा भएसंगै यो सडकमा सवारी साधन आजभन्दा २४ बर्ष अघि देखि सञ्चालनमा आएका हुन् ।
२०५४ सालमा नेकपा एमालेको नेतृत्वमा जिल्ला विकास समितिको गठन भयो । सभापति पदमा गणेश प्रसाद तिमिल्सीना निर्वाचित भएका थिए । भने उप सभापतिमा टिकाराम भुषाल ।
बहुमत स्थानीय निकायमा एमालेले जित हासिल गरेका कारण एमालेको नेतृत्वमा गठन भएको जिल्ला विकास समितिले त्यो बेलामा सडक गुरुयोजना निर्माण गरेको समितिका उप सभापति टिकाराम भुषाल बताउँछन् ।
जिविसकै गुरु योजना अनुसार पहिलो प्राथमिकतामा कार्किनेटा लुंखु सडकको विस्तार भयो । सोहि अवधिमा दोविल्ला फलेवास सडकको पनि विस्तार गरिएको थियो । जिविसकै गुरुयोजना अनुसार मिलनचोक माझफाँट बाँसकर्ख पुग्ने सडक पनि सोहि अवधिमा खनिएको पूर्व उपसभापति भुषालको भनाई छ ।
सडक सञ्जालको गुरुयोजनाकै आधारमा जिविसले फलेवास देखि बाच्छा र खौला देखि कार्किनेटासम्मको ट्रयाक्क खोल्ने काम गरेको थियो । उता, कार्किनेटा देखि दोविल्लासम्मको खण्ड ०५९ सालमा खनिएको हो ।

स्थानीय निकायको कार्यकालको अन्तिमसम्ममा कार्किनेटा हुँदै लुंखुसम्म सवारी सञ्चालनमा आए भने फलेवासको ट्रयाक्क पुरा भएको थियो । कुश्मा दर्लुङ खण्डको सडक २०५७ सालबाट खन्न शुरु गरिएको तत्कालीन जिविस श्रोत बताउँछ । योसंगै सोहि अवधिमा दक्षिण क्षेत्रको हुवासबजारसम्म आउने बालिङ सडक खण्डको निर्माण कार्य पनि शुरुवात भएको थियो ।
अन्य गाउँका साना बाटोहरु भने २०५९ सालपछि तत्कालीन जिल्ला विकास समिति मार्फत निर्माण भएको देखिन्छ । सडक सञ्जालको विकास एवम् विस्तारको लागि बनाइएको दिर्घकालीन सडक सञ्जाल रणनैतिक योजनालाई कार्यान्वयन गरेर मुख्य सडकहरुको ट्रयाक्क खोल्ने कार्य २०६५ सालसम्म आइपुग्दा सम्पन्न भएको देखिन्छ ।
यो अवधि पछि झण्डै १० बर्षमा (२०६५–२०७४) जिल्लाको सडक सञ्जालमा उल्लेख्य परिर्वतन भएको देखिदैन् । साना सडकहरुको ट्रयाक्क खन्ने कामले मात्र सिमितता पायो ।
२०६४, २०७० सालको आम निर्वाचनमा यी सडकहरुको स्तरोउन्नती गर्ने लक्ष्य राजनैतिक दलहरुले ब्यक्त गरे पनि सडक सञ्जालको विकास न्यून रह्यो । राजनैति अस्थिरताको सिकार बनेका ग्रामीण सडक मात्र होइन् निर्माण कार्य सकिएको २० बर्षसम्म पनि पोखरा बागलुङ सडक जिर्ण बन्दै गएको थियो ।
२०७४ सालमा भएको आम निर्वाचन पछि संघीय संसदका उमेदवार पदम गिरी तथा प्रदेश सभाका उमेदवारहरु नेत्रनाथ अधिकारी र विकास लम्सालले सडक सञ्जाललाई मुख्य प्राथमिकतामा राखेका थिए ।

निर्वाचनको अवधिमा सांसद गिरीले उत्तर र दक्षिणका मुख्य सडकहरु ५ बर्ष भित्रमा कालोपत्रे गर्ने उद्घोष समेत गरेका थिए ।
उनीहरु निर्वाचित भएर कम्युनिष्ट सरकार बनेको ३ बर्षको अवधिमा नै जिल्लामा सडक सञ्जालमा देखिने गरी परिर्वतन भएको छ । सडक खनिएको २० बर्ष पछि कालोपत्रे भएका सडकहरुले ग्रामीण क्षेत्रको मुहार फेरेका छन् ।
यो अवधिमा आरसिआइपि कार्यक्रमले २ वटा सडक कालोपत्रेको गरीरहेको छ । (लमायखोला देखि लुंखु हूँदै हुवास जोड्ने सडक र अर्मादी खुर्कोट बनौ सडक) । बाँकी सडकहरुमा संघले प्रदेशमा हस्तान्तरण गरेका सडक र प्रदेश आफैले निर्माण कार्य शुरु गरेका सडक गरी अहिले जिल्लामा १ दर्जन सडकहरुमा कालोपत्रो बिच्छाउने गरी काम भइरहेको छ ।
जलजलामा माझफाँट देखि लेकफाँट बनौ जोड्ने सडकको डिपिआर तयार गरी ठेक्का सम्झौतामा जाने गरी तयारी भएको छ । मिलन चोक देखि धाइरिङ पुग्ने सडकको निर्माण कार्य भइरहेको छ ।
कुश्मा नगरपालकामा कुश्मा दुर्लुङ सडकको निर्माण कार्य सकिएको छ भने, पाङ र खुर्कोट जाने दुवै सडकको निर्माण कार्य भइरहको छ । दोविल्ला देखि ठुलिपोखरी देखि कार्किनेटाको सडकको अधिकांश भाग कालोपत्रे भइसकेको छ ।

पातिचौर देखि देउपुर भुक जाने सडक र डिमुवा देखि तिलाहार हुँदै राम्जा जाने सडकको पनि निर्माण कार्य भइरहेको छ । उता, दक्षिणी क्षेत्र जोडने दोविल्ला फलेवास सडकको पनि निर्माण कार्य भएको छ । फलेवास देखि लुंखु हुँदै हुवास जोड्ने सडकमा पनि निर्माणको काम भइरहेको छ । दक्षिणी क्षेत्रको चिसापानी हुवास विहादी सडकको धेरै भाग सकिएको छ भने विहादीको बहाकी देखि बरौचार खण्डको काम शुरु हुन लागेको छ ।
लोकमार्गको खण्डहरुमा कालोपत्रेको काम भइरहेका छन् भने मध्यपहाडी लोकमार्गको टुलेन सहितको चाक्लो सडक बनाउने काम अन्तिम चरणमा छ ।
यी मह्तवपूर्ण सडकहरुमा निर्माण काम भइरहेको छ । जिल्लाकै पहिलो सडक हिलेखोला कार्किनेटा सडकमा पनि कालोपत्रेको काम भइरहेको छ ।
प्रतिनिधि सभाको अवधि अझै २ बर्ष रहेको भन्दै विघटीत सभाका सांसद गिरीले आगामी २ बर्षमा आफूले प्रतिबद्धता गरेका लगभग सवै सडकमा कालोपत्रे हुने विश्वास ब्यक्त गर्दछन् ।

राजनैतिक दलहरुमा इच्छा शक्ति हुँदा २० बर्षमा नभएको विकास ३ बर्षमै सम्भव भएको देख्दा पर्वतबासी भने दङग परेका छन् । सडकको निर्माण कार्य शुरु भएको झण्डै २४ बर्ष पछि धेरै सडकहरुमा बाह्ै महिना सहज सवारी साधनहरु सञ्चालन हुने अवस्थाको सृजना भएको छ ।




