Print

पर्वतमा १ सय ८० हेक्टरमा कागती खेती

१७ जेठ, पर्वत । जिल्लामा कागती खेतीलाई ब्यवसायीक बनाउने गरी सरकारले बजेट बक्तब्यमा उल्लेख गरेपछि पर्वतका कृषकहरु खुशी भएका छन् । ब्यवसायीक कागती खेती गरेर कृषकको जीवकोपार्जनमा सुधार ल्याउने सरकारको घोषणासंगै कृषकहरुमा उत्साह भरिएको हो ।

अहिले पर्वत जिल्लामा कुल १ सय ८० हेक्टर क्षेत्रफलमा कागती खेती गरिएको कृषि ज्ञान केन्द्र्र पर्वतले जनाएको छ । खेती गरिएको मध्ये १ सय हेक्टर क्षेत्रफलमा लगाइएको कागती खेतीबाट भने उत्पादन भइरहेको कुषि ज्ञान केन्द्रकी प्रमुख मनिता थापाले जानकारी दिईन । सुन्तला खेती बहुबर्षिय फल भएकाले यसको उत्पादनका लागि समय लाग्ने गर्छ । अहिले पर्वत जिल्लामा ७ सय मेक्ट्रिक टन सुन्तला उत्पादन भइरहेको थापाको भनाई छ ।

पर्वत जिल्लालाई कागतीमा ब्यवसायीकरण गर्ने सरकारको नीतिसंगै जिल्लामा धेरै कृषकहरु यो पेशामा आवद्ध हुने कार्यालयले जनाएको छ । कागती खेतीका लागि पर्वत जिल्ला उपयुक्त भौगोलिक क्षेत्र भएको थापाको भनाई छ ।

कागती खेती १ सय देखि १४ सय मिटर समुन्द्रसतह देखिको उचाईसम्म गर्न सकिन्छ । तर, उत्पादनका लागि ६ सय मिटर देखि १२ सय मिटरको क्षेत्रलाई उपयुक्त मानिने ज्ञान केन्द्रकी प्रमुख थापाले जानकारी दिईन ।

पर्वत जिल्लामा कागती खेतीका लागि जलजलाको, मोदी, महाशिला, पैयू, फलेवास र कुश्मा नगरपालिकाका उच्च भागहरु उपयुक्त रहेको कार्यालयले जनाएको छ ।
विरुवा लगाएको सामान्यतः ३ देखि ४ बर्षमा यसले उत्पादन दिन्छ । कागतीलाई सुन्तला प्रजातीकै रुपमा लिईन्छ । ब्यवसायीक खेतीका लागि गुणस्तरीय विरुवा उत्पादन तथा विरुवा लगाएपछि सिंचाईको ब्यवस्थापन यो खेतीका लागि जरुरी रहेको कार्यालय प्रमुख थापा बताउँछिन् ।

जिल्लामा कागतीको नर्सरी ब्यवस्थापन गरी विरुवा उत्पादन गर्नसक्ने सम्भावना समेत रहेका कारण यसको ब्यवसायीकरणमा ठोस कार्यक्रम ल्याउन सकिने थापाको भनाई छ ।

मुख्य गरी कागतीको फल अहिले पनि जिल्लामा निर्यात गर्नुपर्नेहुन्छ भने सरकारी तथ्यांक अनुसार देश भित्र कुल खपत मध्ये केहि प्रतिशत अझै पनि भारतबाट कागती आयात भइरहेको छ ।

सरकारले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटमा पर्वत जिल्लालाई कागती खेतीको पकेट क्षेत्र बनाउने घोषणा गरेको छ । संघीय सरकारले शसर्त कार्यक्रम अन्तर्गत ब्यवसायीक खेती गर्ने कृषकहरुलाई प्रोत्साहन हुने गरी थप कार्यक्रम ल्याउन सकेको खण्डमा जिल्लामा उत्पादन भएको कागती खेती बाहिरी जिल्लामा पनि निर्यात गर्न सकिने सम्भावना रहेको छ ।