Print

नेकपा निकट काठमाण्डौं पर्वत सम्पर्क मञ्च भेला सम्पन्न, पौडेलको संयोजकत्वमा आयोजक समिति गठन

 माघ १८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेतले सही बिचार, सिद्धान्त र मुलुकलाई समृद्ध बनाउने उद्देश्य लिएका केपी ओलीको पक्षमा आम जनता र कार्यकर्ता रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी पर्वत काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम बोल्दै नेता बस्नेतले जनतामा लोकप्रिय बन्दै गएको नेकपा एमालेमा प्रचण्ड नामको कागती छिरेपछि कचौराको केही दुध फाटेपनि नेकपाको सम्पूर्ण पंक्ति एकढिक्का रहेको बताए ।

कार्यक्रममा बोल्दै निवर्तमान सांसद पदम गिरीले केपी ओली नेतृत्वको सरकारले गरेका कामदेखि आत्तालिएर नेकपाका केही नेता सरकार ढालेर देशलाई अनिश्चितता तिर धकेल्न खोजेकाले संसद विघटन हुने अवस्था आएको बताए । नेकपा पर्वतका अध्यक्षसमेत रहेका नेकपा केन्द्रीय सदस्य गिरीले केही नागरिक अगुवा भनिनेहरू संसद विघटन भएको चिन्तामा नभइ रत्नपार्कमा डलर डकारेको आरोप लगाए । उनले देश चुनावमय भएको अवस्थामा नेकपा प्रचण्ड माधव नेपाल समुह चुनावमा जान खुट्टा कमाएको आरोप लगाउँदै यो विशिष्ट परिवेशमा सम्पर्क मञ्चको कार्यक्रममा भएको उपस्थितका लागि सबैलाई धन्यवाद व्यक्त गरे ।

नेकपा नेता तथा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री विकास लम्सालले १५ वर्ष पार्टीको नेतृत्व गरेका माधव नेपाल पार्टी प्यालेसको अध्यक्ष हुन कुन नैतिकताले दिएको होला भन्दै प्रश्न गरे ।

भेलाले शिव पौडेलको संयोजकत्वमा १५१ सदस्यीय आयोजक कमिटी गठन गरेको छ ।