Print

प्रधानमन्त्री ओली माघ २२ गते पर्वत आउने

१८ माघ, पर्वत । कालीगण्डकी प्रसारण करिडोरको खुर्कोट–दाना खण्डको उद्घाटनका लागि प्रधानमन्त्री केपी ओली पर्वत आउने भएका छन् । राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानासम्मको सवस्टेसनको उदघाटनका लागि प्रधानमन्त्री ओली पर्वत आउन लागेको प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले जानकारी दिए । सवस्टेशनअन्तर्गतको लाइन निर्माणका सबै काम सम्पन्न भएपछि परीक्षण भइरहेको र हाल सम्मका विभिन्न चरणका परीक्षण पनि सफल भएपछि प्रधामन्त्री ओली उद्घाटनका लागि पर्वत आउन लागेका हुन् ।

पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को दानामा रहेको सव स्टेशनमा विद्यत प्रसारणका लागि पर्वतको तल्लो मोदी १ सय ३२ केभी प्रसारण लाइनमा प्राविधिक जाँचलगायतका सम्पन्न भएको कम्पनीका इलेक्ट्रिसियन प्राविधिक प्रदीप शर्माले बताए ।

पर्वतको खुर्कोटदेखि म्याग्दीको दानामा दुई सबस्टेसन तथा त्यसबीचमा ११० टावर निर्माण गरी ३९ दशमलव ६ किलोमिटर लामो तार टाँगिएको छ । एसियाली विकास बैंकको तीन अर्ब ऋण सहयोग तथा नेपाल सरकारको झन्डै ८० करोडको लागतमा खुर्कोट–दाना खण्डमा प्रसारण लाइनको काम गरिएको आयोजनाका सहायक निर्देशक महादेव भट्टराईको जानकारी दिए ।

कालीगण्डकी प्रसारण करिडोर आयोजना निर्माणका लागि जेभी अफ टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक कम्पनीले निर्माणको जिम्मा पाएको हो । आर्थिक वर्ष २०७१/७२ मा निर्माण सम्झौता भई आव २०७५/७६ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भए पनि आयोजना सम्पन्न गर्न ढिलाइ भएको थियो । ओलीसंगै उर्जा मन्त्री टोपबहादुर रायमाझी समेत पर्वत आउने प्रजिअ रेग्मीले जानकारी दिए ।