Print

अल्लो प्रशोधन गर्न बनाइएको ‘नमुना प्रविधि’ प्रयोग विहिन

२० असोज, पर्वत । जिल्लाको मोदीगाउँपालिका वडा न ३ घुरुङामा अल्लो प्रशोधनका लागि नेपालकै नमुना प्रविधि प्रयोग विहिन भएको छ । पोखरा विश्वविद्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा अल्लो धुवा प्रशोधनका लागि जडान गरिएको नमुना प्रविधि प्रयोग विहिन भएको हो ।

अल्लो प्रशोधन गर्दा समय र श्रममा बचत हुने विश्वासका साथ जडान गरिएको प्रविधि प्रयोग गर्न समस्या भएको भन्दै स्थानीयले उक्त प्रविधि प्रयोग गर्न छोडे पछि प्रविधि प्रयोग विहिन भएको हो । भुमेप्रसाद डल्लु सामुदायिक अल्लो उद्योगमा उक्त प्रविधिको जडान गरिएको छ । पोखरा विश्व विद्यालय र कोरियाको ह्यान्डङ ग्लोबल यूनिर्भसिटिको साझेदारीमा सञ्चालीत नेपाल इनोभेसन टेक्नोलोजी एण्ड इन्टरप्राइजेज सेन्टरको सहयोगमा उक्त प्रविधि जडान गरेको हो । मेसिन जडान गरेको २ बर्षमा अहिले मेसिन खिया लागेका छन् भने प्रयोग नभएर ति मेसिनहरु थन्किएका छन् ।

नेपाल र कोरिया वीचको खोज र अनुसन्धान वीचको सहकार्य बमोजीम उक्त प्रविधि परिक्षणको रुपमा जडान गरिएको थियो ।

उद्यमी रनमाया पुन भन्छिन–‘मेसिन प्रयोग गर्दा असहज भएको छ’ उनले अल्लो प्रशोधन गरी धुने मेसिन प्रयोग गर्दा पानीको समस्या परेको बताईन । अल्लोलाई प्रशोधन गर्दा अल्लो पिट्ने मेसिनमा पनि ठूलो आवाज आएका कारण त्यो पनि प्रयोग विहिन भएको पुनले जानकारी दिईन् । पुरातन प्रविधिबाट अल्लो प्रशोधन गर्दै आइरहेका स्थानीयलाई प्रविधि जडान भएपछि उद्यममा सहज होस भनेर प्रविधिको जडान गरे पनि ति प्रविधि अहिले प्रयोग विहिन बनेका छन् ।

नेपालमा अल्लो प्रशोधन र त्यसबाट उत्पादन भएका कपडाहरुको बजार पछिल्लो समय फस्टाउँदै गएको छ । जिल्लाका देउराली, क्याङ, शालीजा, लेकफाँट लगाएतका स्थानमा लघु घरेलु उद्यमीहरुले ब्यवसायीक रुपमा नै अल्लो प्रशोधन गर्दै आएका छन । जंगलमा पाइने चाल्ने सिस्नोलाई प्रशोधन गरि त्यसबाट कोट, पाइन्ट, झोला लगाएतका सामाग्रीहरु उत्पादन गर्न सकिन्छ ।

पकाउने, धुने र थिच्ने काममा धेरै समय र श्रम प्रयोग हुने भएपछि प्रविधिको जडान गरी थोरै श्रममा धेरै उत्पादन गर्न मिल्ने गरी मेसिनको जडान गरिएको थियो । अहलिे पकाउन, धुने र थिच्ने सवै मेसिन प्रयोग विहिन बनेका छन् । वडाअध्यक्ष देवेन्द्र क्षेत्रीले उद्यमीहरुले नै प्रविधिको प्रयोग गर्न नमानेको बताउँछन् । घरबाट झण्डै ३ घण्टाको पैदल हिडेर अल्लोको कच्चा पदार्थ खोजेर ल्याउनु पर्छ । मोदी गाउँपालिकाकी उद्यम सहजकर्ता सिता शर्मा भन्छिन–‘कच्च पदार्थ जम्मा गरेपछि प्रशोधन गर्न प्रविधि जडान गरिएको हो तर, प्रयोग गर्न स्थानीयले मानेनन ।’

यो कोरियाली इन्जिनियर र नेपाली इन्जिनियरले तयार गरेको नमुना प्रविधि हो । अनुसन्धानकै लागि उक्त प्रविधि प्रयोग गरिएको हो । प्रयोग विहिन बनेको मेसिनको प्रतिनिधि सभाका सदस्य पदम गिरीले निरिक्षण गर्दै प्रविधि प्रयोगका समस्याहरु समाधान गर्दै मेसिनलाई पुनः प्रयोग गर्ने ब्यवस्था मिलाउनुपर्ने बताए । अर्थ वीट साप्ताहिकबाट