Print

कुश्मा बजारमा लक डाउन : एक हप्ता देखि परिक्षण गरिएको छैन्

३० भदौ, पर्वत । कोरोना संक्रमण समुदायमा देखिएको भन्दै विगत ४ दिन देखि कुश्मा बजारमा लक डाउनको घोषणा गरिएको छ । पसल, वित्तिय संस्था र यातायात बन्दको आब्हान गरिएको छ ।

भदौ २३ गते संकलन भएका ६९ जनाको स्वाबमा १ जना समुदायका ब्यक्तिमा संक्रमण देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतले कुश्मामा लक डाउनको घोषणा गरेको हो । भदौ २३ गते संकलन भएको स्वाबको नतिजा भदौ २६ गते प्राप्त भएको थियो । प्रशासन कार्यालयले भदौ २७ गते देखि लागू हुने गरी १ हप्ते निषेधाज्ञा जारी गरेर कुश्मा बजार ठप्प बनाएको छ ।

भदौ २३ पछि भने कुश्मामा कसैको पनि स्वाब संकलन गरिएको छैन् । एक हप्ता वित्दा पनि स्वाब संकलन नगर्ने तर, सदरमुकामको बजार पुरै बन्द गरेर बस्ने कार्यलाई स्थानीयले भने विरोध गर्न थालेका छन् । राज्यले परिक्षणको काम नगर्ने तर बजार बन्द गरेर संक्रमण नियन्त्रण गर्ने अभियान चलाएको छ । संक्रमीत ब्यक्तिको भदौ २३ गते सम्पर्कमा आएका ब्यक्तिहरुको पनि अहिलेसम्म परिक्षण गरिएको छैन ।

सिसिएमसिका प्रवक्ता प्रविन भण्डारीले सरकारको प्रोटोगल अनुसार संक्रमण पुष्टि भएको ५ देखि ७ दिन पछि मात्रै अन्यको परिक्षण गर्नुपर्ने भएकाले अहिले कसैको पनि स्वाब संकलन नगरिएको दावी गर्छन् । उता, बजार र वित्तिय संस्था बन्द हुँदा जिल्लाकै आर्थिक कारोबार पूर्ण रुपमा बन्द छ । यस्तो अवस्थामा संक्रमणको दर र फैलावट छिटो भन्दा छिटो पत्ता लगाउनुपर्नेमा परिक्षण नगर्ने तर, बजार बन्द गर्ने कार्यले स्थानीयलाई सास्ती बाहेक केहि मिलेको छैन् ।