Print

मुडिकुवा पहिरो : बुवाकै हातबाट पहिरोले लग्यो २ बर्षकी निकितालाई

३० भदौ, पर्वत । विहान पख ४ बजेको समय । एक्कासी घरमाथिबाट पहिरो आएपछि सुतिरहेका परिवार घरबाट बाहिर निस्किए । बाहिर निकै ठूलो भेल सहित पहिरो बगिरहेको थियो । ज्यान जोगाउनका लागि घरबाट बाहिर निस्केका नविक विकले हातले २ बर्षकी छोरी समातिरहेका थिए । घरमै बसिरहँदा पहिरोले घर नै बगाउने भएपछि उनको परिवार बाहिर निस्कन खोजेको थियो ।

घरबाट बाहिर निस्कने वित्तिकै नविकको हातमा पहिरोको ढुंगा बजारियो र हातबाट छोरी फुत्किन । उनकै आखाको अगाडि छोरीलाई पहिरोले बगायो । आफ्नै आँखा अघि छोरी बगेपछि उनी अत्तालिए रुन लागे । पहिरोले फेरी उनीसंगै उनकी श्रीमतिलाई पनि बगायो । फलेवास नगरपालिका वडा न ४ मुडिकुवामा भदौ २९ गते विहान पख गएको पहिरोले नविक विक उनकी श्रीमति लक्ष्मी विकलाई पनि बगायो ।

भेलमा वगेका उनीहरुलाई तत्कालै बचाउने कोहि भएनन् । पहिरो गएको थाहा पाएर स्थानीयबासी उद्धारका लागि आईपुग्दा नविन र उनकी श्रीमतीलाई बाँसको झाङमा पहिरो अल्झाएको अवस्थामा उद्धार भयो । छोरी भने वेपत्ता भईन् । हातबाटै पहिरोले छिनेर लगेकी छोरीलाई स्थानीयले खोजी गर्दा मृत अवस्थामा घर देखि केहि पर फेला पारे । अविरल बर्षातका कारण मुडिकुवाको चुरी भन्ने ठाउँबाट आएको पहिरोले सिसुर्वामा यस्तो मानवीय क्षति पुराएको छ ।

नविक विक भन्छन्–‘ रातको समय भएकाले छोरीलाई बचाउन सकिन ।’ मंगलबार भाब विह्वल अवस्थामा रहेको परिवारलाई सान्तवना दिन पुगेका सांसद पदम गिरीसंग भक्कानिदै नविनले भने–‘दैव निकै पापी र निर्दयी बन्यो ।’ हातबाट छुटाएर पहिरोले छोरीको प्राण लिएपछि विक दम्पत्ति निकै पिडामा परेका छन् ।

नविन भन्छन्–‘घरबाट ननिस्केको भए बरु केहि हुने रैन्छ’ उनीहरु सुतिरहेको घर पहिरोले लगेको छैन् । पहिरोको कारण सामान्य क्षति मात्र भएको छ । गोठमा केहि चौपाय मरेका छन् भने केहिको स्थानीयले जीवितै उद्धार गरेका छन् । पिडित परिवारलाई सान्तवना दिदै सांसद गिरीले शोकलाई शक्तिमा बल्दन आग्रह गरे । विपत्तिले जुनसुकै बेलामा पनि जस्तोसुकै क्षति बनाउन सक्ने भएकाले त्यसबाट पाठ सुरक्षाका उपाय अपनाउनुपर्ने धारणा राखे ।

पहिरोमा परी अन्य ५ जना पनि घाईते भएका छन् । घाईते सवै जनाको अस्पतालबाट डिस्चार्ज गरिएको छ । पहिरोले अवरुद्ध फलेवास दोविल्ला सडक खुलाइएको छ ।