Print

पर्वतमा कोरोनाको जोखिम : घरमै बसेर चाडबाड मनाउन प्रशासन कार्यालयको अनुरोध

३ भदौ, पर्वत । कोरोनाको संक्रमण बढ्दै गएपछि कास्की जिल्लामा निषेधाज्ञा लगाइएको छ भने पर्वतका छिमेकी बागलुङ, म्याग्दी जिल्लामा पनि कडाई गरिएको छ ।कोरोना संक्रमण अहिले सम्म समुदायमा नदेखिएको पर्वत जिल्लामा भने सुरक्षामा कडाई गरिएपनि निषेधाज्ञा नै लगाइएको छैन । तर तीज, बाबुको मुख हेर्ने दिन जस्ता चाडबाड आएका कारण दर खान ठुलो समुह जम्मा हुने, नाँचगानमा रमाउने देखि गाउँगाउँमा मेला तथा प्रतियोगिता आयोजना गर्न भने पर्वतमा पनि रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यलय पर्वतले मंगलबार बिज्ञप्ती जारी गर्दै नजिकै आइरहेका तीज लगायतका पर्वहरुमा कसैलाई पनि घरमा निम्ता र सामूहिक खानपिनको कार्यक्रम दुवै नगर्न आह्वान गरेको छ । प्रशासनको स्पष्ट सन्देश छ ‘घरमै बसेर चाडबाड मनाउनुस, मेला, भेला गर्दै नगर्नुस’ ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जारी गरेको सुचनामा यो वर्ष कोरोना जोखिमलाई ध्यानमा राखी बुधबार पर्ने बुबाको मुख हर्नेदिन तथा हिन्दू महिला दिदीबहिनीको महान पर्व हरितालिका तीज पर्वमा कोहि कसैलाई पनि घरमा निम्ता, सामूहिक खानपिनको कार्यक्रम र नित्य कर्मबाहेक धार्मिक क्षेत्रमा भीडभाड नगरी घरमै बसेर मनाउन आह्वान गरिएको छ ।

यस्ता चाडपर्व लगायत मानिस जम्मा हुने कुनै पनि कार्य गरे वा गराएमा अथवा कसैले आयोजना गरेको पाईएमा कानुन अनुसार कारवाहि गरिने अनुरोध गरिएको छ । जिल्ला प्रशासनले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन तथा यदि निस्कनै परेमा मास्क लगाउन तथा कोभिड सुरक्षा सतर्कता अपनाउन समेत जिल्लावासीलाई अनुरोध गरेको छ ।