२२ साउन, पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा न ३ मा रहेको खानेपानी आयोजनाको प्रतिनिधि सभाका सांसद पदम गिरीले निरिक्षण गरेका छन् । निरन्तरको बर्षातका कारण पहिरोले क्षति पुराएको खानेपानी आयोजनाको सांसद गिरी सहितको टोलीले निरिक्षण गरेको हो । बर्षातका कारण वारीवेनी खानेपानी तथा सरसफाई आयोजनाको ट्याङकीमा क्षति पुगेको छ ।
जिल्लाको सदरमुकाम पछि ठूलो बजार क्षेत्र रहेको पर्वत वेनीमा उक्त खानेपानी आयोजना मार्फत पानी वितरण हुँदै आएको छ । झण्डै १ हजार धारा जडान भएको उक्त आयोजना झण्डै १३ करोडको लागतमा निर्माण भएको हो ।
सरकारको सह लगानी कार्यक्रम मार्फत निर्माण भएको उक्त आयोजना लिप्ट प्रविधिमा आधारित छ । कालीगण्डकी नदी किनारबाट लिप्ट गरिएको खानेपानीलाई प्रशोधन गरी वितरण हुँदै आएको छ । यस अघि झण्डै २ बर्ष अघि सोहि आयोजनाको कार्यालय भवनको सांसद गिरीले शिल्यान्यास गरेका थिए ।
खानेपानी आयोजनामा पहिरोले पुराएको क्षति हेरेपछि सांसद गिरीले त्यसको संरक्षण र मर्मत कार्यमा संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता ब्यक्त गरेको नेकपा जलजला गाउँ कमिटिका अध्यक्ष दिपक आचार्यले जानकारी दिए ।
सांसद गिरीसंगै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेल, नेकपा नेता मेघनाथ सुवेदी लगाएतका नेताहरु सहभागी थिए । उक्त टोलीले जलजलाको वारीवेनी, बगरफाँट क्षेत्रमा कालीगण्डकी नदीले गरेको कटानको समेत निरिक्षण गरेको थियो ।




