Print

कोरोना र डेंगु रोगबारे पर्वतका पत्रकारलाई अभिमुखीकरण

२४ असार, पर्वत । जिल्लाका पत्रकारहरुलाई कोरोना र डेंगु रोगका बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पर्वतले पत्रकारहरुका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

पछिल्लो समय कोरोना र डेंगु रोग एकै पटक देखा परेको छ । कोरोनाका कारण पर्वतमा ९० जना संक्रमीत भएका छन् । अद्यावधिक तथ्यांक अनुसार ५० जना भने कोरोनाबाट निको भइ घर फर्केका छन् । बाँकी ४० जना आइसोलेसनमै छन् । । जिल्लामा कोरोना संक्रमण स्थानीय स्तरमा पुगे पनि त्यसले समुदायमा संक्रमण बृद्धि नगरेको स्वास्थ्य कार्यालयको भनाइ छ । कन्ट्रयाक्ट ट्रेसिङ गर्दा समुदायमा संक्रमण फैलिएको पुष्टि नभएको कार्यालयले जनाएको हो ।

एता, गर्मी मौसम र झरी संगै डेँगुको संक्रमण समेत बढ्ने भएकाले सचेत हुन अनुरोध गरिएको छ । डेँगु फैलाउने लामखुट्टेको वासस्थान नष्ट गर्नुपर्ने र लामखुट्टेको लार्भा र फुल नष्ट गर्नुपर्ने आवश्यकता देखिएको चिकित्सकहरुले बताएका छन् । पर्वतमा अहिले सम्म २ जनामा यो वर्ष डेँगु संक्रमण देखिएको छ । जलजला गाउँपालिका स्थित वारीबेनीका एक जना र फलेवास नगरपालिका ५ खानीगाउँमा एक जनामा डेँगु संक्रमण देखिएको हुनाले समूदायमा डेँगु फैलिन सक्ने भएकाले सचेत हुनुपर्ने आवश्यकता रहेको स्वास्थ्य कार्यालयका प्रमुख डा। भोजराज गौतमले बताए ।

यो मौसममा डेँगु फैलाउने एडिज एजिप्टाई लामखुट्टेको उत्पत्ती पनि बढ्ने भएकाले विशेष गरि सङलो पानी जम्ने भाँडा, गाडीका टायर, फुलदानी, छत, बंगैचा, सडकका वरिपरी छरिएका विर्काहरु खाली गर्नुपर्ने र लामो समयसम्म पानी रहिररहने ठाउँ सफा राख्नुपर्ने डा. गौतमले सल्लाह दिए । उनले डेँगु रोग पनि कोरोना जस्तै लक्षण भएको हुनाले यो रोग पनि कोरोना जस्तै खतरनाक रहेको बताए । कोरोना व्याक्ति मार्फत व्याक्तिमा सर्ने भएकाले मानिसहरु संग भौतिक दुरी कायम गर्ने र व्याक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्ने तर डेँगु सर्न नदिन वातावरणीय सरसफाईमा ध्यान दिनुपर्ने गौतमले बताए।

पर्वत अस्पतालका निमिक्त प्रमुख डा. शिशिर देवकोटाका अनुसार कोरोना जस्तै डेँगुको पनि उपचार नभएको बताए । असाध्यै ज्वरो आउने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने, शरिरमा राता विमिरा आउने, आँखाका गेडी दुख्ने लगायतका लक्षण डेँगुका लक्षण हुन् । पर्वतमा डेँगुको अवस्था पत्ता लगाउन समूदायमा सर्वेक्षण, परिक्षण, सचेतना जगाउने तालिम, गोष्ठि, लामखुट्टे खोज्ने र नष्ट गर्ने लगायतका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।