Print

बन्द कुश्मा बजार फेरी खुल्यो, ब्यापार नहुँदा ब्यापारीहरु ब्यवसाय नै छोड्ने मनस्थितीमा

२० असार, पर्वत । विगत ३ महिना देखिको पसल बन्दबाट हैरानी ब्यहोरेका पर्वतको कुश्मा बजारका ब्यवसायी थप चिन्तित बनिरहेका छन् । नेपाल बन्दको समयमा १ दिन मात्रै ब्यवसाय बन्द हुँदा ठूलो नोक्साी भएको भन्ने गरिएको बेला अहिले महिनौ दिन देखि पसलहरु बन्द छन् । असार महिना शुरु भएपछि केहि दिन पसल खोलेका कुश्माका ब्यापारीलाई पुनः असार ५ गते पछि प्रहरीले नै पसल बन्द गरायो ।

स्थानीयमा कोरोना संक्रमण देखिएको नाउँमा प्रशासनले पसल बन्द गराएको थियो । त्यसको दुई हप्ता पछि पुनः कुश्माका पसलहरु सञ्चालनमा त आएका छन् तर ब्यापार छैन ।

संक्रमणको डरका कारण गाउँबाट बजारमा मानिसहरु अत्यावश्यक बाहेकका काममा आएका छैनन् । ३ महिना देखि पसल बन्द हूँदा न सरकारले ब्यवसायीलाई राहतको घोषणा गरेको छ, न घरवेटीले भाडा नै छुट दिएका छन् । महिना भरी ब्यापार गर्ने र घरभाडा तिर्ने ब्यवसायी सवैभन्दा बढि मारमा परेका छन् ।

केहि ब्यवसायी अव ब्यवसाय नै छोडेर गाउँमा पलायन हुने मनस्थितीमा पुगेको देखिन्छ । ‘पसल खोले पनि ब्यापार छैन, सवारी साधन नचल्दा ग्राहक आएका छैनन् । यस्तो अवस्था केहिलेसम्म ?’ ब्यवसायी दिपेन्द्र केसी भन्छन–‘राज्यले राहत घोषणा गर्न परयो ।’ वैंकबाट ऋण ल्याएका ब्यवसायी अझै ठूलो मारमा परेका छन् ।

वैंकको किस्ता, ब्याज तिर्ने पर्छ । घरभाडा र आफ्नो नियमित खर्च हुने नै भयो । ‘सरकार संक्रमणको डर देखाउँदै महिनौसम्म ब्यवसाय बन्द गराउँदै जान्छ, ब्यवसायी टाट पल्टने बेला आयो’

उता, सवारी साधन पनि विगत ३ महिना भन्दा बढि पूर्ण रुपमा बन्द हुँदा उनीहरुले समेत सास्ती बेहोरी रहेका छन् । वैंक र सहकारीबाट ऋण लिएर सवारी साधन खरिद गरेका ब्यवसायी दोहोरो मारमा परेका छन् । सवारी साधन नचल्दा खिया लाग्ने सम्भावना बढिरहेको छ ।

पर्वतको कुश्मामा २ हजार भन्दा बढि साना र ठूला ब्यवसायीहरु रहेका छन् । सयौको संख्यामा सवारी साधनका ब्यवसायीहरु रहेका छन् । लक डाउन र संक्रमण लम्बिदै जाँदा त्यसले ब्यवसायमा निकै ठूलो असर पारेको छ ।