२० असार, पर्वत । निरन्तरको वर्षातका कारण पहिरो जाँदा कुश्मा नगरपालिका वडा न १ पाङ को सहस्रधारा–पाङ सडक बगेको छ । पहिरोका कारण पर्वतको पाङको ढकढकेका ११ घर उच्च जोखिममा परेका छन् । उक्त पहिरोको प्रतिनिधि सभा सदस्य सांसद पदम गिरी सहितको टोलीले निरिक्षण गरेको छ । पहिरोग्रस्त स्थानमा नेकपाका प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, कार्यालय सदस्य गोविन्द पहाडी पनि सहभागी थिए ।
पहिरोका कारण सहस्रधाराबाट पाङ जाने कालोपत्रे सडकको एउटा भाग पूर्ण रुपमा भत्केको छ । सडक भत्कदा उक्त सडकमा सवारी आगमन अवरुद्ध बनेको छ । पहिरोका कारण सडक भन्दा तलको सहस्रधाराको वस्ती पनि उच्च जोखिममा परेकोछ ।
उता, पाङको ढकढके गाउँका ११ घर उच्च जोखिममा रहेका छन् । स्थानीय टिकाराम चापागाईको गोठ भत्किसकेको छ । चापागाई भन्छन–‘यो बर्षा कति बेला घर बग्ने हो निधो छैन ।’ बर्षात हुँदा रातभर जाग्राम बस्नुपरेको स्थानीय बिमला चापागाई बताउँछिन् । उनले रातको समयमा पानी परे घर बाहिर निस्केर बस्नुपरेको दुःखेसो गरिन् ।
अर्मादी खुर्कोट हुँदै बनौ जोड्ने सडकका कारण उक्त बस्ती उच्च जोखिममा परेको हो । सडकमा लगाएको ग्याविन समेत पहिराले पुरेको छ । सडकका धेरै खण्डहरुमा पहिरो गएको छ । सडक खण्डमा गएको पहिरोका कारण बस्तीको वीचमा जमिन फाँटेको छ । वडाअध्यक्ष देवेन्द्र सुवेदी भन्छन–‘पहिरो गयो भने, पाङको एउटा सिंगै वस्ती बग्नेछ, तल्लो बस्ती पुरै पुर्ने छ’
बर्षातका कारण घरका आँगन, चौपारी र घरका भित्ताहरुमा चिरा परेका छन् । कतिखेर पहिरो खस्छ, त्यो भन्न नसकिने वडाअध्यक्ष सुवेदी बताउँछन् । घरमा सुत्ने अवस्था छैन, गोठमा गाई बस्तु राख्न पनि डर भएको छ । वडाअध्यक्ष सुवेदीले बस्तीलाई तत्काल स्थानान्तरण नगर्दा ठूलो क्षति ब्यहोनुपर्ने बताउँछन् ।
पहिरोको निरिक्षणमा पुगेका सांसद गिरीले उच्च जोखिम भएका वस्तीका स्थानीयलाई बर्षात हुँदा थप सचेत रहन आग्रह गरे । वस्तीलाई तत्काल स्थानान्तरण गर्ने वा अरु विकल्पमा वस्तीलाई सुरक्षित गर्ने भन्ने विषयमा सम्बन्धित निकायमा आफूले पहल गर्ने उनले आश्वासन समेत दिए ।
पहिरोले भत्केको सहस्रधारा पाङ सडकको निर्माणका लागि लागत स्टिमेट तयार गरेर संघीय सरकारबाट बजेट ब्यवस्थापनका लागि पहल गर्ने सांसद गिरीले जानकारी दिए । पहिरोका कारण जिल्लाका अधिकांश वस्तीहरु उच्च जोखिममा परेका छन् । यस अघि बर्षातकै कारण पहिरो जाँदा कुश्मा ३ दुर्लुङमा ९ जनाको मृत्यु भएको थियो । ३ घर पहिरोले पुरेको थियो ।




