१ असार, पर्वत । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङ ढकालबारीमा शनिबार रातिको पहिरोमा परी हराएका एक बालक अझै भेटिएका छैनन् । शनिबार राति र आइतबार दिनभर सुरक्षाकर्मीले खोजी जारी राखे पनि पहिरोमा परी हराएका तेह्र वर्षे बालक जेनिस विक भने फेला परेका छैनन् ।
आईतबार अबेर सम्म उद्धारमा जुटेका सुरक्षा निकाय र स्थानीयले जेनिसलाई फेला पार्न नसकेपछि सोमबार बिहान खोजी कार्य गर्ने भन्दै रोकेका थिए । आज बिहानबाटै पुन खोजी कार्यमा सुरक्षा निकाय र स्थानीय बासी जुटिरहेको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । शनिबार राति ३ जना र आईतबार दिउँसो सम्म ५ जना गरी ८ जनाको उद्धार गरेका सुरक्षा निकाय र स्थानियले हिजो राति अबेर सम्म पनि खोजी कार्य जारी राख्दा पनि शव नभेटेपछि रोकिएको रेग्मीले जानकारी दिए
सोमबार विहानै देखि बर्षात भईरहेका कारण उद्धारमा समस्या भएपनि पानि रोकिएसंगै सुरक्षा निकाय र स्थानियले खोजी कार्यलाई निरन्तरता दिईरहेको कुश्मा नगरपालिका ३ दुर्लुङका वडा अध्यक्ष तेज प्रसाद पाध्याले जानकारी दिए । अहिलेसम्म फेला परेका ८ जनाकै शव आईतबारनै सदरमुकाम कुश्मास्थित पर्वत जिल्ला अस्पतालको शव घरमा राखिएको छ । उनिहरुको पोष्टमार्टम आजै गरिनेछ ।
आज बिहान १० बजे सम्म पहिरोमा हराएका जेनिस फेला परेमा सबै जनाको अन्तिम संस्कार गरिने अन्यथा नभेटिएमा ८ जनाको मात्र भएपनि अन्तिम संस्कार गरिने प्रजिअ रेग्मीले बताए । शनिबार राति १० बजे आएको पहिरोले ढकालबारीका तुलबहादुर थापा र कमला विकको परिवारलाई बगाएको थियो । थापाको ६ जना र विकको ३ जनाको परिवार थियो । थापा परिवारका ६ जनाकै शव फेला परेको छ भने विक परिवारका बालक अहिलेसम्म भेटिएका छैनन् ।




