३२ जेठ, पर्वत । भिषण बर्षातका कारण आएको बाढिले कुश्मामा आउने खानेपानीको पाइपमा क्षति पुराएको छ । शनिवार राती आएको भिषण बर्षासंगैको बाढिले कुश्मा बजारमा आउने खानेपानीको पाइप सुन्दरे खोलाबाट बगाएको हो । खानेपानीको पाइप खोला तारेर ल्याइएको थियो । खोलाको बेग र बाढिका कारण पाइपमा क्षति पुगेको शिवालय खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जनाएको छ ।
कुश्मामा खानेपानीको आपूर्ति पुरा गर्नका लागि झण्डै १५ किलोमिटरको दुरीमा रहेको पातिखोलाको मुहानबाट कुश्मामा पानी ल्याइएको छ । वृहत खानेपानी आयोजना अन्तर्गत उक्त आयोजना विगत लामो समय देखि सञ्चालनमा छ । खानेपानीको पाइप बगाएपछि उक्त कार्यको मर्मत शुरु भइसकेको समितिले जनाएको छ । पाइपमा क्षति पुराउँदा कुश्मामा खानेपानीको समस्या सृजना भएको छ ।
आइतबार विहानै देखि मर्मत कार्य शुरु गरेपनि आइतबार मर्मत नसकिने समितिले जनाएको छ । बर्षातका कारण कुश्मा नगरपालिका वडा न ३ मा पहिरो समेत गएको थियो । पहिरोमा परी ९ जना मानिस पुरीएका थिए । उनीहरु मध्ये ८ जनाको शव फेला परेको छ । एक जनाको खोजी कार्य अझै जारी छ ।




