दिनभर खुलेको मौसम । पसिना चुहाउने गर्मि । निम्न धरातलीत क्षेत्रमा टन्टलापुर घाम । पर्वतको उच्च पहाडी क्षेत्रमा पर्छ दुर्लुङ । गर्मि मौसममा पनि चिसोपनको आभाष भैरहने । जेठको ३१ गतेको दिन । दिउँसो देखिको गर्मिमा थकान मार्दै गर्दा ,साँझको समय मौसम बद्लियो । आकाशमा मेघहरु देखिए । सूर्यास्त भयो । यत्तिकैमा बर्षात हुन थाल्यो । मेघ गर्जन सहितको बर्षात साँझ ७ बजे देखि शुरु भयो ।
मेलापात जानेहरु पनि घर फर्केका थिए । अन्य काममा ब्यस्त हुनेहरु पनि घरमा थिए । बेलुकाको खाना खाएर थकान शरीरलाई विश्राम गर्ने बेलामा मुसलधारे पानी परीरह्यो । दुुर्लुङ कुश्मा नगरपालिका वडा न ३ मा पर्दछ । वडा न ३ भरीका सवै बस्तीमा पानी परेको थिएन् । वडाको पूर्वी भेग र उत्तरी भेगमा ठूलो बर्षात भयो । बर्षातसंगै मेघ गर्जन भईरहेको थियो । छिपिदै थियो रात। मानिसहरु बर्षातको आवाजसंगै निदाए । केहि मानिसहरु ठूलो बर्षात भएका कारण केहि सर्तक रहे । दुर्लुङको उत्तरी क्षेत्रमा तिव्र गतिमा बर्षात भइरह्यो ।
बर्षातसंगैको मेघ गर्जनले मुटु कमाइरहेको थियो, केहि बेरमा गड्गडाहट आवाज आयो, वस्तीमा पहिरो खस्यो । केहि घरहरुका भित्तामा माटोका ढिस्काहरुले धक्का मारे । घरको आगनबाट भेल चल्यो, खोल्साखोल्सीहरुमा पानीको वेग उच्च भयो । यो वितण्डा सहीरहेका वस्तीका छिमेकी वस्तीहरुमा भने बर्षात नै भएको थिएन । उत्तरी वेगले अरु बस्ती र छिमेकी वडाहरुमा भने सितलता प्रदान गरीरहेको थियो । रातको करिब ८ बजे एकाएक पहिरो झर्यो । वरीपरीका छिमेकीले थाहा पाउँदा पाउँदै २ घर पहिरोले पुरै पुरयो । अर्को एउटा घरमा छति भयो । मानिसहरुमा भागदौड र कोलाहल मञ्चियो । क्षति पुगेको घरबाट दुई जनालाई स्थानीयले तत्कालै उद्धार गरे ।
घर भत्किदा पनि उद्धार पाएर बाँचेकाहरु हुन । भुवन गिरी र अर्जुन गिरी । उनीहरु बसीरहेको घरमा पहिरोका कारण क्षति पुग्यो । सकसपूर्ण तरिकाले उनीहरु पहिरोबाट फुत्किए । उता, तुलबहादुर थापा र कमला विकको घर पहिरोले पुरयो ।
तुलबहादुर थापाको घरमा उनकी श्रीमति मिनकुमारी थापासंगै माइत बस्न आएकी छोरी ३४ बर्षकी दिर्पा थापा र दिर्पाको छोरा १७ बर्षको विवेक थापा घरमै थिए । तुलबहादुरको घरमा उनको छोरा तर्फका नाति १५ बर्षका सम्राट थापा, र नातिनी ११ बर्षकी विबिसा थापा पनि घरमै थिए । तुलबहादुरका छोराबुहारी भने कुश्मामा पसल गरेर बस्छन् । पहिरो गएको रातमा तुलबहादुरको घरमा उनी सहित ६ जनाको परिवार थियो । विवेक थापा एसइईको परिक्षा दिने तयारीमा थिए ।
कमला विकको घरमा भने कमलाका छोरा १४ बर्षको जेनिस विक र ८ बर्षकी प्रमिशा विक घरमा थिए । कमलाका श्रीमान विदेशमा रोजगारीका लागि गएका छन् ।
पहिरोमा दुवै परिवार रातको ९ बजे नै बेपत्ता भए । घरको अस्तित्व नै नरहने गरी झण्डै ५ सय मिटर भन्दा बढि लामो क्षेत्रफल बनाउँदै पहिरोले फराकिलो आकार लियो । पहिरो आयो भन्ने खबर सदरमुकाममा केहि मिनेटमै फैलियो ।
उद्धारका लागि स्थानीयहरु पनि घर बाहिर निस्के, सदरमुकामबाट थप जनशक्ति गयो । रातको ११ बजे दुई जनाको शव फेला परयो । तुलबहादुर र उनकी श्रीमती मिनकुमारीको शव फेला परयो । रातको ११.३० बजे तेस्रो शव भेटियो । त्यो शव तुलबहादुरकी नातिनी विविसा थापाको थियो ।
अहिलेसम्म तुलबहादुरको घरमा बसेका र पहिरोले पुरिएका सवैको शव फेला परेको छ ।
उता, कमला विकको परिवारको शव भोलिपल्ट भेटियो । कमला र उनकी छोरी प्रमिशाको शव पनि भेटियो । योसंगै कुल ८ जनाको शव फेला परेको छ ।
कमलाको छोरा जेनिस भने अझै वेपत्ता छन् । ८ जनाको शव पर्वत जिल्ला अस्पतालमा राखिएको छ । सोमबार उनीहरुको सामूहिक दाहसंस्कार हुँदैछ । योसंगै दुर्लुङबासी यतिबेला शोकमा डुबेका छन् ।
एउटै घरका ६ जना परिवार गुमेका छन् । अर्को घरका २ जनाको मृत्यु भएको छ । एक जना अझै वेपत्ता छन् । नसोचेको यो दुःखत कथा कसैलाई पनि दोहोराएर सुन्न मन छैन् । अव केबल पापी आकाशलाई गाली गर्नुको विकल्प छैन् । बाँडिएर बर्षात भएन् । एकै ठाउँमा बर्षात भयो । बर्षातको आकार ठूलो भयो, त्यसले क्षति पुरायो । गाउँलेको डम्माइ त्यहि छ ।
पर्वत जिल्लामा यति धेरै संख्यामा पहिरोका कारण मानिसको मृत्यु भएको यो सम्भवतः पहिलो घटना हो । पहिरोमा पुरिएका १ जनाको खोजी कार्य जारि छ । सोमबार पनि खोजी कार्य जारी रहनेछ । पहिरोले निम्ताएको दुःखत जीवनको अन्त्य कहानीले धेरै आँखा अहिले रसाएको छ । मन टोलाएको छ । भाव विह्ल बनाएको छ ।
३२ जेठ, २०७७




