३२ जेठ, पर्वत । प्रतिनिधि सभाको आजको वैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद पदम गिरीले पर्वत जिल्ला अस्पतालमा आइसियूको ब्यवस्थापनका लागि सरकारसंग माग गरेका छन् । वैठकको शुन्य समयमा बोल्दै सांसद गिरीले जिल्लामा संक्रमीतको संख्या बढ्दै जाँदा त्यसको ब्यवस्थापनमा कठिनाई उत्पन्न भएको समेत बताए ।
वैठकमा बोल्दै गिरीले भने–‘२० क्षमताको आइसोलेसन वार्ड भएको अस्पतालमा अव भने विरामीको चाप बढ्दा वेड संख्या अभाव भएको छ ।’ जिल्लामा कोरोना रोगको उपचार गर्न कम्तिमा १ सय वेडको आवश्यकता परेको भन्दै त्यस तर्फ सहयोग गर्न सरकारको सांसद गिरीले ध्यानाकर्षण गराएका छन् ।
‘अहिले पर्वत जिल्लामा २६ जना संक्रमीत छन्’ उनले वैठकमा भनेका छन्–‘संक्रमीत बढ्ने सम्भावना छ, त्यो हुँदा हालको अस्पतालको वेड संख्याले थेप्न सक्दैन ।’ अस्पतालमा वेड संख्या बढाउनुपर्ने माग राख्दै उनले आइसियूको ब्यवस्थापन तत्काल गर्ने कार्यमा सहयोग गर्न संघीय सरकार मार्फत प्रदेश सरकारको समेत ध्यानाकर्षण गराएका हुन् । सघन उपचार कक्ष (आइसियू)को ब्यवस्थापन नगर्दा विरामीको अकालमा ज्यान जानसक्ने भन्दै गिरीले यस्तो माग गरेका हुन् ।
अहिले जिल्ला अस्पतालमा आइसियू कक्ष छैन । भेन्टिलेटरको ब्यवस्थापन पनि भइसकेको छैन । अस्पतालले कोरोना रोगको उपचारका लागि बेग्लै कोरोना अस्पतालको निर्माण गरेको छ । उक्त अस्पतालमा अहिले २६ जना कोरोना संक्रमीतहरु रहेका छन् । जिल्ला अस्पतालमा १५ शैयाको सेवा अस्पतालले नियमित रुपमा प्रदान गर्दै आइरहेको छ ।




