Print

दुर्लुङ पहिरो : सांसद गिरीद्धारा दुःख ब्यक्त, संसद वैठकको ध्यानाकर्षण

३२ जेठ, पर्वत । प्रतिनिधि सभाको आजको वैठकमा सांसद पदम गिरीले कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा गएको पहिरोको विषयमा ध्यानाकर्षण गराएका छन् । संसद वैठकको शुन्य समयमा बोल्दै सांसद गिरीले दुर्लुङमा गएको पहिरोका कारण मृत्यु भएका र वेपत्ता भएकाहरुप्रति दुःख ब्यक्त गर्दै संसद वैठकमा घटनाको जानकारी समेत गराएका हुन् ।

सत्तारुढ दल नेकपाका सांसद गिरी पर्वत जिल्लाबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । गृह वडा समेत रहेको दुर्लुङमा पहिरोका कारण ७ जना मानिसको मृत्यु भईसकेको छ भने, २ जना बेपत्ता छन् । सांसद गिरीले यस्तो विपद्को रोकथाम गर्नका लागि सरकारले विशेष कार्य योजना ल्याउन समेत माग गरेका छन् ।

उनले प्राकृतिक विपद्का घटनाहरु बर्षातसंगै शुरु हुने भन्दै यसबाट बच्न अपनाउनुपर्ने सावधानीहरुका बारेमा सचेता अभिबृद्धि गर्नुपर्ने बताए । तराई क्षेत्रमा डुबान र पहाडी क्षेत्रमा पहिरोको जोखिम बर्षातमा उच्च हुने गिरीको भनाई छ ।

यस अघि सांसद गिरीले पहिरोग्रस्त क्षेत्रमा उद्धारका लागि सवैले सहयोग गर्न हिजो रातीनै सार्वजनिक रुपमा अनुरोध गरेका थिए । पहिरोग्रस्त क्षेत्रमा सुरक्षाकर्मी र स्थानीयबासीले उद्धार गरी सकभर मानवीय क्षति कम गराउन सहयोग गर्न गिरीको आग्रह थियो ।

घटना घटे लगतै आफूलाई स्थानीयले जानकारी गराएका कारण आफूले तत्कालै सुरक्षा निकाय र अन्य स्थानीयसंग समेत समन्वय गरेर उद्धार कार्यलाई प्रभावकारी बनाउन यस अघि अनुरोध गरेको गिरीले बताएका छन् ।