२५ जेठ, पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा न ८ नाङलीवाङ देखि बागलुङ जिल्लाको बागलुङ बजार जोड्ने अग्लो झोलुंगे पुल निर्माण हुने भएको छ । पुल निर्माणको लागि प्रारम्भिक सर्भे भएपश्चात संघीय सरकारको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक कार्यालय (डोलिडार) मार्फत निर्माण हुँदै आएका झोलुंगे पुलहरुमा उक्त पुल समेतको निर्माण कार्य अघि बढ्ने भएको हो ।
आगामी आर्थिक बर्षका लागि कुल ५० लाख रकम विनियाजन भएको प्रतिनिधि सभाका सांसद पदम गिरीले जानकारी दिए । पर्वतको नाङलीवाङ देखि बागलुङ बजार जोड्ने उक्त पुल निर्माण हुँदा नाङलीवाङबासीलाई बजारको पहुँचमा सहजता हुने भएको भन्दै स्थानीयले पुल निर्माणको माग गर्दै आइरहेका थिए । पुल निर्माण हुँदा उक्त पुलबाट बजारसम्मको पहुँच मार्ग निकै छोटो हुने स्थानीय सोम जिसी बताउँछन् ।
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीना, प्रतिनिधि सभाका सांसद पदम गिरी र गण्डकी प्रदेशका सभामुख नेत्र अधिकारीलाई स्थानीयले पटक पटक झोलुंगे पुल निर्माण कार्य अगाडि बढाउन बजेट विनियोजनको माग गर्दै आइरहेका थिए ।
जिल्लामा अग्ला स्थानहरुमा धेरै झोलुंगे पुल निर्माण भएका कारण पनि उक्त स्थानमा पुल निर्माण कार्य सहज भएको भन्दै झोलुंगे पुल निर्माणको माग हुँदै आएको नेकपाका जलजला गाउँकमिटि अध्यक्ष दिपक आचार्यले बताए । पछिल्लो पल्ट प्रतिनिधि सभाका सांसद गिरीलाई समेत पुल निर्माणको माग गरिएको स्थानमा लगेर स्थलगत अवलोकन स्थानीयले गराएका थिए ।
स्थलगत अवलोकन पछि सांसद गिरीले पुल निर्माण कार्य सर्भेक्षणका आधारमा सम्भव देखिएमा निर्माणका कार्यका लागि बजेट जसरी पनि उपलब्ध गराउने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए । जलजला ८ का वडाअध्यक्ष हरीबहादुर जिसीले वडाले जग्गाको ब्यवस्थापन र अन्य कार्यमा सहयोग गर्ने भन्दै पुल निर्माण प्रक्रिया अघि बढाइदिन आग्रह समेत गरेका थिए ।
आगामी बर्षका लागि उक्त पुलसंगै अन्य अग्ला पुलहरु समेतको निर्माण कार्य अघि बढन्े गरी बजेट विनियोजन भएको छ । पर्वतको विहादी गाउँपालिका बाच्छा र बागलुङको छिस्ती जोड्ने झोलुंगे पुल गत बर्षहरु देखि नै माग भई आए पनि जग्गाको विवादका कारण थप अन्यौलमा पर्दै आइरहेको थियो । जग्गाको उचित ब्यवस्थापन हुँदा उक्त पुल पनि आगामी बर्ष देखि निर्माण शुरु हुँदैछ ।
यसैगरी फलेवासका नगरपालिकाका पाङराङ देखि श्रीकाङ जोड्ने पुल निर्माण कार्य समेत अघि बढन्े भएको छ । यी सवै पुलहरु १ सय २० मिटर भन्दा लामो स्पाम (लम्बाई) भएका पुलहरु हुन् । डोलीडारले टिभिएसयू नामक अन्तराष्ट्रिय गैर सरकारी संस्थासंगको प्राविधिक तथा आर्थिक सहयोगमा नेपालमा झोलुगे पुलहरु निर्माण गर्दै आइरहेको छ । १ सय २० मिटर भन्दा कम लम्बाईका पुलहरु यस अघि जिल्ला विकास समिति र स्थानीय उपभोक्ता समितिले निर्माण गर्दै आइरहेका थिए । लामो लम्बाई हुने पुलहरु भने बोलपत्र आब्हानद्धारा ठेक्का विधिमा जाने गर्दछन् ।
पछिल्लो समय संघीयतामा देश गएपछि भने स्थानीय तहहरुले स्थानीय गैर सरकारी संस्थासंग मिलेर छोटा दुरीका पुलहरु निर्माण गर्दै आइरहेका छन् । प्रदेश सरकारले भने सवै पुलहरु ठेक्का विधि मार्फत निर्माण गर्दै आइरहेको छ । संघीय सरकारले निर्माण गर्ने अग्ला र लामा पुलहरु पनि ठेक्का विधि मार्फत निर्माण हुने गर्दछन् ।




