Print

संघीय बजेट : पोखरा पामे–आर्थर–कार्किनेटा–लुंखु–भोक्सिङ–सेतीवेणी–रिडी सडकका लागि ४ करोड

१९ जेठ, पर्वत । पर्वत जिल्लाका लागि बहुप्रतिक्षित सडकको रुपमा हेरिएको पोखराबाट – पामे– भदौरे– राम्जा–आर्थर–कार्किनेटा–लुंखु–भोक्सिङ –उरामपोखरा–सेतीबेणी– रिडी पुग्ने सडकका लागि ४ करोड मात्र विनियोजन भएको छ । अन्दाजी ८० किलोमिटर सडक खण्डमा संघीय सरकारले जम्मा ४ करोड मात्रै विनियोजन गरेको हो ।

पर्वतको मुख्य पर्यटकीय मार्गको रुपमा विकास गर्न लागिएको यो सडक खण्डलाई राष्ट्रिय आयोजनामा जोड्न पर्वत जिल्लाका पूर्व सभापति समेत रहेका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीना विगतका बर्षहरु देखि नै प्रयास र पहल गर्दै आइरहेका थिए । पोखराबाट उत्कृष्ट पर्यटकीय गन्तब्यमा परेका पर्वतका पञ्चासे, महाशिला, सेतीबेणी हुँदै रिडी सम्मको सडक राष्ट्रिय राजमार्गले यो क्षेत्रको थप विकास हुने अपेक्षा गरिएको छ ।

अहिले सम्म सडकको पर्वत र कास्की खण्डको सबैजसो भागमा ट्रयाक खोल्ने काम भैसकेको छ । अब सडक कालोपत्रे र बिस्तार हुने भएको छ ।

सेतीबेणी देखि पोखरा सम्म डाँडैडाडा सडक बनाउँदा पुल बनाउन नपर्ने र रिडी, शालिग्राम, महाशिला, डहरे, पञ्चासे र पोखरा जस्ता धार्मिक र पर्यटकीय क्षेत्र समेत पक्की सडक सञ्जालमा जोडिने भएकाले यसलाई पर्यटकीय सडकको रुपमा समेत बिकास गर्न सकिने छ । पर्वतको सुदुर दक्षिणबाट मध्यभाग हुँदै उत्तरपुर्बी क्षेत्र जोडने सडक पर्वतको मेरुदण्ड समेत बन्ने छ ।

यो सडक खण्डको लुंखु देखि पाखापानी खण्डको केहि सानो खण्ड यस अघि महाशिला गाउँपालिकाले कालोपत्रे गर्न गरी काम शुरु गरेको छ । बाँकी खण्ड मध्ये दोविल्ला फलेवास सडकको खौला कार्किनेटा खण्डमा कालोपत्रेको काम भईरहेको छ । सडकको बाँकी सवै खण्ड कच्चि अवस्थामा रहेको छ । लागतको हिसावले झण्डै १ अर्ब लाग्ने यो सडक खण्ड पुरा भएमा यसले पर्वतको उच्च भागको यात्रा सहज र रमोरम हुनेछ ।