Print

भारतबाट पर्वतमा आएका २९ जनाको थ्रोड स्वाब संकलन

११ जेठ, पर्वत । संक्रमीतको संख्या अधिक रहेको देश भारतबाट पर्वत आइपुगेका २९ जनाको थ्रोड स्वाब आज संकलन गरिएको छ । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार पर्वत आएर क्वारेन्टाइनमा बसेकाहरुको थ्रोड स्वाब संकलन गरिएको हो ।

भारतबाट सिधै प्रशासनको सम्पर्कमा रहेर पर्वत आइपुगेका उनीहरु अहिले कुश्मा बजारमा रहेको शिवालय मावि र ब्लू एन्जल होटलको क्वारेन्टाइनमा बसेका छन् । भारतबाट हिडेको ३ दिनको दिन उनीहरु पर्वत आइपुगेका हुन् । परिक्षणको रिर्पोट भोलीसम्म आइपुग्ने डा. देवकोटाले जानकारी दिए । स्वाब संकलन गरिएका मध्ये १७ बर्ष देखि ३० बर्ष उमेर समूहका मानिसहरु रहेका छन् । ति मध्ये १ जना भने ५० बर्ष उमेर समूहका छन् ।

स्वाब संकलन गरिएकाहरु मध्ये पैयू गाउँपालिकाका सवै भन्दा धेरै १५ जना रहेका छन् । यसैगरी फलेवास नगरपािलकाका ४ जना, विहादी गाउँपालिकाका ३ जना, महाशिला गाउँपालिकाका २ जना मोदी गाउँपालिकाका २ जना रहेका छन् । यसैगरी कुश्मा नगरपालकाका २ जना र जलजला गाउँपालिकाका १ जना रहेका छन् ।
उनीहरु संक्रमीत क्षेत्रबाट आएका कारण संक्रमणको उच्च जोखिममा छन् ।

परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा उनीहरुलाई आइशोलेसनमा राखेर उपचार गरिनेछ । रिर्पोट नेगेटिभ देखिएमा थप १४ दिन उनीहरु क्वारेन्टाइनमा बस्नुपर्नेछ । डा. देवकोटाका अनुसार उनीहरु भारतबाट हिडेको ३ दिनको दिनमा पर्वत आएका कारण बाटोमा संक्रमीत भएको रैछन भने परिक्षणमा रिर्पोट नेगेटिभ पनि देखिन सक्छ ।

संक्रमीत विरामीको संक्रमण पुष्टि हुन कम्तिमा १ हप्ता लाग्ने भएका कारण रिर्पोट नेगेटिभ आए पनि उनीहरु कडाईका साथ सरकारी क्वारेन्टानमा बस्नुपर्नेछ । रिर्पोट नेगेटिभ देखिएपछि स्थानीय तहले ब्यवस्थापन गरेका क्वारेन्टाइनमा बस्नका निम्ति सिफारिस गरिने डा. देवकोटा बताउँछन् । रिर्पोट नेगेटिभ आए पछि कम्तिमा दुई हप्ता क्वारेन्टाइनमा नबसेमा संक्रमण फैलने सम्भावना बढ्ने डा. देवकोटाको तर्क छ ।

रिर्पोट नेगेटिभ आएकाहरुको १४ दिन पछि पुनः थ्रोड स्वाब परिक्षण गरिनेछ । त्यस पछि पनि रिर्पोट नेगेटिभ आएमा भने बल्ल उनीहरु कोरोना संक्रमीत नभएको प्रमाणित हुनेछन् ।  यस अघि भारतबाट आएका दुई जनाको परिक्षण गरिएको थियो । उनीहरुको रिर्पोट नेगेटिभ आएको थियो ।