Print

स्थानीय तह निर्वाचनको ३ बर्ष : पर्वतमा के भयो विकास ?

गणेश गिरी/९ जेठ, पर्वत । नेपाली जनताले लामो समय देखि संविधान सभा निर्वाचनको माग गरे । संविधान सभा निर्वाचनको माग गर्दै देशमा गृह युद्ध समेत भयो । शसस्त्र युद्धमा संविधान सभा निर्वाचनको माग गर्ने हजारौ लडाकूहरु शहिद भए । जनआन्दोलन भयो । सयौ घाइते र कयौको मृत्यु भयो । आन्दोलनको जगमा स्थापीत जनप्रतिनिधिमूलक संविधान सभाको निर्वाचन पछि देशमा जनताका प्रतिनिधि आफैले लेखेको संविधान जारी भयो ।संविधानले देशलाई संघियतामा लैजाने घोषणा गरेसंगै देशमा पहिलो पल्ट स्थानीय तहहरु बने, प्रदेश संरचना निर्माण भयो । संघिय सरकारको रुपमा नेपाल सरकारलाई स्थापीत गराइयो । त्यहि संविधानको जगमा टेकेर स्थानीय तहको निर्वाचन भएको तीन बर्र्ष पुरा भएको छ ।

साविक गाउँ विकास समिति र जिल्ला विकास समितिको संरचनालाई परिमार्जित गर्दै संविधानले देशमा स्थानीय तहको परिकल्पना गरेको हो । स्थानीय निकायको रुपमा रहेका गाविस र जिविसहरुका संरचना स्थानीय तहमा गाभिएसंगै त्यसलाई निकाय भन्दा शक्तिशाली बनाइएको छ । स्थानीय स्तरका कानूनहरु निर्माण गर्ने अधिकार देखि बजेटको विनियोजनसम्मका अधिकार स्थानीय तहका विशेषता हुन ।

गाउँ र नगर सभा मार्फत जनताका आधारभूत समस्याहरु समाधान गर्नसक्ने अधिकार सम्पन्न स्थानीय तहहरु निर्माण भएका छन । ति स्थानीय तहहरुमा प्रमुख, अध्यक्ष र उपप्रमुख उपाध्यक्ष रहने गरी नगरपालिका र गाउँपालिकाको गठन भएको छ । संविधानले २३ वटा अधिकारहरु स्थानीय तहलाई जिम्मेवारी दिएर गठन भएका ति स्थानीय तहहरुका काम कारबाही र कार्य सञ्चालनमा भने आम जनताहरुले खवरदारी गर्नु अझै जरुरी छ । राजनैतिक दलको प्रतिनिधिको रुपमा जनताको प्रत्यक्ष मतद्धारा चुनिनै ति जनप्रतिनिधिहरुले स्थानीय स्तरमा रहका जनताका आधारभूत आवश्यकताहरु परिपूर्ति गर्नका लागि महत्वपूर्ण खेल्नसक्नेछन । त्यो भूमिकाले जनताका आधारभूत समस्याहरु समाधान पनि हुनेछन । जनताको दैनिक जीवनसंग जोडिएका समस्याहरु समाधान गर्ने र प्रदेश तथा संघिय सरकारका योनजाहरुलाई मूर्त रुप दिने गरी योजनाहरु निर्माण गर्नु स्थानीय तहको दायित्व हो । त्यो दायित्वबाट विचलित हुने स्थानीय तहले संविधानले कल्पना गरेजस्तो मूल भावनालाई मुखरित गर्न सक्दैनन ।

देशभरका ७५३ स्थानीय तहहरुले जनताको मनोभावना बमोजीम काम गर्ने, जनमैत्री प्रशासन सञ्चालन गर्ने भ्रष्ट्रचार रहित कार्यसञ्चालन गर्ने जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सकेको खण्डमा मात्र संविधानको मुल भावनालाई सम्बोधन हुनेछ । पर्वत जिल्लामा साविकका ५५ गाउँ विकास समितिहरु खारेज भए, ६१ वटा वडाहरु गठन भएका छन । ७ वटा स्थानीय तहहरु निर्माण भएका छन । ति स्थानीय तहहरुको निर्वाचन सम्पन्न भएको ३ बर्ष पुरा भएको छ । २०७४ साल वैशाख ३१ गतेसम्पन्न निर्वाचनमा विजयी भएकाहरुले पर्वतबासी जनताका आवश्यकताहरु कतिसम्म पुरा गरे । कति बाँकी छन । जनताले खोजेजस्तो प्रशासक बन्न सकेका छन् या छैनन त्यो मूलभूतः प्रश्न हो ।

देशमा भएको पहिलो स्थानीय तहको निर्वाचनमा पर्वत जिल्लामा कम्युनिष्ट पार्टीले बहुमत स्थानीय तह र बहुमत वडाहरुमा निर्वाचन जितेको हो । नेपाली कांग्रेस र कम्युनिष्ट घटक बाहेकको शक्तिले निर्वाचन जितेका छैनन ।

देशका दुई ठूला राजनैतिक शक्तिहरुले जिल्लाको बागडोर सम्हालीरहेका छन । यो अविधिमा स्थानीय तहहरुका शासकहरु माथि जनताको अपेक्षाकृत भरोसा भने बृद्धि भएको छैन । राजनैतिक दलका कार्यकर्ताहरु वीच नै रुमलिरहेका स्थानीय तहका प्रमुखहरुले जनताका सारभूत आवश्यकताहरु परिपूर्ति गर्न आर्थिक कार्यदिशा र विकास निर्माणको गतिलाई समात्न नसकिरहेको आभाष जनताले गरीरहेका छन ।

फलेवास नगरपालिका

जिल्लाका दुई नगरपालिका मध्ये फलेवास नगरपालिकाले विकासको केहि उल्लेखनीय कामहरुको शुरुवात गरेको छ । दीगो विकासको अवधारणालाई सार्थक र सफल बनाउनका लागि दुरगार्मी निर्णय र कार्यदिशामा उक्त नगरपालिकाले काम गरीरहेको छ । नगरपालिका ग्रामीण क्षेत्रमा रहेको र विकास सिद्धान्तका धेरै आधारहरु तय भइनसकेका कारण जनताको आर्थिक, सामाजिक विकास भन्दा पहिले भौतिक पूर्वाधारको विकास प्राथमकिता थियो । कच्चि सडक, ग्रामीण बसोबास, उत्पादनका साधनहरुका अभाव र कृषि औद्योगिकीकरणका चुनौतिका बाबाजुद पनि नगरपालिकाले अगाडि ल्याएका दीगो विकासका अवधारणाहरु अनुशरण योग्य देखिएका छन् । सडक, शिक्षा र जलविद्युत नगरपालिकाका दुरगार्मी महत्व बोक्ने विकासका क्षेत्रहरु बनेका छन् । अर्को तर्फ पर्यावातावरण, हरितगृह र लघुउद्यम विकास मार्फत स्थानीय जनताको जीवनस्तर उकास्ने कुरामा नगरपालिकाले अगुवाई गरेको छ । आर्थिक पारदर्शीता र शुसासन कायम गर्न नगरप्रमुखको जोडवलका कारण नगर क्षेत्रमा आर्थिक मितब्ययीता र कार्य प्रगतिको आवद्यिक समिक्षाका कारण नगरपालिकाले गति लिएको देखिन्छ । नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट पदमपाणी शर्माले कार्यभार सम्हालीरहेका छन् ।

कुश्मा नगरपालिका

सदरमुकामको यो नगरपालिका जिल्लाकै पहिलो नगरपालिका पनि हो । विकास पूर्वाधारका हिसावले अरु स्थानीय तह भन्दा बलियो मानिएको कुश्मामा सडक निर्माणको कार्य प्रगतिमा उल्लेख्य सुधार हुँदै गएको छ । प्रदेश र संघका साझेदारीका कारण विकसित भएका सडकहरुले नगर क्षेत्रमा नौलो रौनक पनि दिएको छ । स्थानीय जनताका साना र आधारभूत आवश्यकताहरु परिपूर्तिका लागि नगरपालिकाले पहल गरेको छ । कृषि, पशुपालन र पर्यटन क्षेत्रको विकास, विस्तारका लागि उल्लेखनीय कामहरु भएका छन् । वडाहरु आफ्ना वडाहरुमा रहेका साना र तत्काल सम्बोधन गर्नुपर्ने कार्यमा स्थानीय जनताको मन जित्ने कार्यमा निरन्तर लागि रहेका छन् । नगरपालिकाले सरसफाई र वातावरण सुधारको क्षेत्रमा महत्वपूर्ण कामहरुको शुरुवात गरेको देखिन्छ । नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित रामचन्द्र जोशी नगरप्रमुखकको रुपमा छन् ।

महाशिला गाउँपालिका

गाउँपालिकाहरुको अगुवाई गरीरहेको महाशिला गाउँपालिकाले विकास आयोजनाहरुमा दिर्घकालीन महत्वका अधिकांश कार्यमा अनुकरणीय कामहरुको शुरुवात गरेको छ । स्थानीय जनशक्तिको परिचालनको क्षेत्रमा उदाहरणीय काम देखाएको महाशिला गाउँपालिकाले उत्पादनका क्षेत्रहरुको पहिचान र विस्तारमा पनि प्रंशनीय काम गरेको भेटिन्छ । आर्थिक मितब्ययीता कायम गर्दै जनप्रतिनिधिहरुलाई जनता प्रति नै उत्तरदायि र जवाफदेखि बनाउनका लागि गाउँपालिकाको भूमिका सन्तोषजनक रुपमा भेटिएको छ । नागरिकलाई शिक्षा र स्वास्थ्यको पहुँच स्थापीत गराउने र शैक्षिक विकासका लागि नविन योजनाहरुको विकास गर्ने अभियानमा गाउँपालिकाका प्रयासहरु सार्थक बनेका छन् । कृषि क्षेत्रमा सहयोग र पर्यटकीय सम्भावनाहरुको खोजी कार्यले पनि पालिका क्षेत्रमा आर्थिक विकासको शुरुवात गराएको भेटिन्छ । यस गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट निर्वाचित राजु्प्रसाद पौडेलले कार्यभार सम्हालीरहेका छन् ।

मोदी गाउँपालिका

जिल्लाको मोदी गाउँपालिकालाई पर्यटकीय स्थलहरुको प्रचुर सम्भावना, जलविद्युतको खानीको रुपमा हेर्न सकिन्छ । मानव विकास, आर्थिक र सामाजिक विकासका सुचांकहरुमा अगाडि देखिने कार्यमा गाउँपालिकाले आर्थिक उन्नयन, शक्तिकरण र लघु उद्यमको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरीरहेको छ । पर्यटन र पर्यावातावरणलाई समेत प्रयोग गरी पर्यटकहरुलाई भित्राएर नागरिकको आर्थिक हैसियतलाई माथि उकास्नका लागि समेत गाउँपालिकाले प्रयास गरीरहेको भेटिन्छ । मुख्य गरी लघु उद्यमको क्षेत्रबाट आर्थिक सम्बृद्धिका आधारहरुको खोजी कार्यमा गाउँपालिकाले विशेष पहल गरेको छ । सडक पूर्वाधार क्षेत्रको विकास र नागरिकको सबलीकरणको क्षेत्र अघि बढाउँदै कृषि उत्पादनमा जोड गाउँपालिकाले दिएको छ । गाउँपालिकाका नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट निर्वाचीत प्रेम पौडेलले अध्यक्षको रुपमा कार्यभार सम्हालीरहेका छन् ।

जलजला गाउँपालिका

धर्म, संस्कृति र परम्पराको संरक्षण सम्बद्र्धनको यात्रासंगै अघि बढेको जलजला गाउँपालिका जिल्लाको अर्को पर्यटकीय सम्भावना बोकको स्थान हो । नदीजन्य वस्तुको उत्पादन विक्री र वितरणका कारण ठूलो धनराशी आन्तरीक आम्दानी गर्न सक्ने गाउँपालिकाले मुख्य गरी कृषि, पशुपालनको क्षेत्रमा जनस्तरलाई विकसित गर्ने कार्य गरीरहेको छ । जनप्रतिनिधिहरुले स्थानीय जनताका आधारभूत आवश्यकताहरुलाई सम्बोधन गर्ने कार्यमा प्रयत्न गरीरहेको फलस्वरुप स्वास्थ्य सेवालाई सरज र सहज बनाउने तथा कृषि उत्पादनमा बृद्धि गर्ने कार्यमा गाउँपालिकाले काम गरीरहेको देखिन्छ । गाउँपालिकाका नेपाल नेपाली कांग्रेसको तर्फबाट निर्वाचीत यामबहादुर मल्लले अध्यक्षको रुपमा कार्यभार सम्हालीरहेका छन् ।

विहादी गाउँपालिका

जिल्लाको विहादी गाउँपालिका आफैमा कृषिको श्रोतको रुपमा प्रयोग गरी मानवीय आवश्यकताका सुचकहरुलाई परिपूर्ति गर्न सकिने सम्भावित स्थान हो । दक्षिण क्षेत्रको यो गाउँपालिकामा सडक सञ्जालको आवश्यकतालाई साझेदारी कार्यक्रम गरी गाउँपालिकाले पुरा गर्ने गरी काम गरेको भेटिन्छ । मुख्य गरी आर्थिक सम्बृद्धि, आर्थिक विकास र आर्थिक गतिविधिहरु मार्फत नागरिकका आवश्यकताहरुको पहिचान र गर्ने कार्यमा योजनाबद्ध ढङगले विकासका आयामहरुमा गाउँपालिकाले काम गरीरहेको छ । शिक्षा, जनचेतना अभिबृद्धि र शसक्तिकरणको माध्यमबाट पिछडिएका र वञ्चितिकरणमा परेका समुदायसंग पहुँच अभिबृद्धिका कार्यक्रमहरु पनि गाउँपालिका मार्फत सञ्चालन भईरहेका छन् । गाउँपालिकाका नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट निर्वाचन कमल भुषालले अध्यक्षको रुपमा कार्यभार सम्हालीरहेका छन् ।

पैयू गाउँपालिका

मुख्य गरी नागरिकको स्वास्थ्य सेवालाई सुरक्षित र सुनिश्चित हुनुपर्छ भन्ने गरी नागरिकको जीवस्तर उकास्नका लागि गाउँपालिकाले काम गरीरहेको भेटिन्छ । पर्यटन सम्भावना निकै कम रहेको गाउँपालिकामा उत्पादनयोग्य भूमिको अत्याधिक उपभोग गरी कृषिमा आत्मनिर्भर बनाउने कार्यमा यथोचित कार्यक्रमहरु सञ्चालन भईरहेका छन् ।आम नागरिकका आधारभूत मागहरुलाई परिपूर्ति गर्ने कार्यमा लागि परेको गाउँपालिकाले आर्थिक विकासका मेरुढण्डको रुपमा कृषि क्षेत्रको विकास, विस्तार र उत्पादनका श्रोतहरुको पहिचान कार्यक्रममा प्रयास गरीरहेको भेटिन्छ । शिक्षा क्षेत्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने साझेदारी कार्यक्रम मार्फत सडक सञ्जालको विकास, विस्तार गर्ने अभियानमा पनि गाउँपालिकाले सफलता प्राप्त गर्दै गइरहेको छ । गाउँपालिकाका नेपाली कांग्रेसको तर्फबाट निर्वाचीत खगेन्द्र तिवारीले अध्यक्षको रुपमा कार्यभार सम्हालीरहेका छन् ।

(समाचार विश्लेषण)