५ जेठ, पर्वत । जलजला गाउँ कमिटिका सदस्य तथा युवा संघका नेता विज्ञानराज शर्मालाई धम्काइएको भन्दै नेकपा जलजला गाउँकमिटि र युवा संघ नेपाल पर्वतले छुटाछुछै विज्ञप्ति निकालेर विरोध गरेका छन । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले सामाजिक सञ्जालमा लेखेको भरमा धम्की दिएको भन्दै उनीहरुले विरोध जनाएका हुन ।
गाउँपालिकामा भएका गुणस्तरहिन बिकास निर्माण, बेतिथी लगायतका बिषयमा शर्माले सामाजीक सञ्जालमा आबाज उठाउँदा गाउँपालिका अध्यक्ष मल्लले रातको समयमा फोन गरेर धम्काएको बिषयप्रति ध्यानाकर्षण गराएको जलजला गाउँकमिटि अध्यक्ष दिपक आकाश र युवा संघका पर्वतका संयोजक थमनारायण पौडेलद्धारा हस्ताक्षरी विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा गाउँपालिकाका क्रियाकलापको बारेमा लेख्दा र बोल्दा साईबर क्राईममा मुद्धा हाल्ने भनेर नागरिक स्वतन्त्रता माथि हस्तक्षेप गरिएको उल्लेख गरिएको छ । जनप्रतिनिधि जनताले चुनेका कारण उनीहरुका विषयमा बोल्न र लेख्न पाउनु नागरिकको नैर्सगिक अधिकार भएको उल्लेख गर्दै त्यस्ता कार्य बन्द गर्न गाउँपालिका अध्यक्षलाई आग्रह समेत गरिएको छ ।
उता, गाउँपालिका अध्यक्ष मल्लले भने आफूले धम्कि नदिएको बताए । उनले पटक पटक सामाजिक सञ्जालमा गाउँपालिकाका विषयमा लेखेका कारण आफूले सामान्य रुपमा सम्झाएर गाउँपालिकामा बोलाएको बताए । स्थानीय जनतालाई दुख दिने र धम्काउने काम जनप्रतिनिधिको हैसियतमा आफूले कहिल्यै नगरेको तर, सामाजिक सञ्जालमा उग्र भएर लेख्ने कार्यलाई निरुत्साहन गर्ने कार्यमा सवैले साथ दिनुपर्ने मल्लको भनाई छ । सामाजिक सञ्जालमा मल्ल र शर्मा वीचको वार्तालाप सार्वजनिक भएको छ ।





