४ जेठ, पर्वत । कुस्मा नगरपालिका–३ दुर्लुङस्थित लिम्लेकी एक महिला चितुवाको आक्रमणमा परी घाइते भएकी छिन् । आफ्नो घरभन्दा केही पर घाँस काट्दै गरेको अवस्थामा ४० बर्षिया माया गुरुङलाई चितुवाले आक्रमण गरेको वडाध्यक्ष तेजप्रसाद पाध्याले जानकारी दिए ।
आईतबार बिहान ९ बजेको समयमा घाँस काट्दै गरेको अवस्थामा चितुवाले आक्रमण गरेको थाहा पाएपछि गाउँलेहरुले चितुवा लखेटेर मायालाई बचाएका थिए । पिठ्युँ र तिघ्रामा चोट लागेका कारण उनलाई स्थानीय दुर्लुङ स्वास्थ्य चौकीमा राखेर उपचार गरिएको छ ।
स्वास्थ्य चौकीका अहेव सुरेश सुवेदीले अवस्था सामान्य भएकाले सदरमुकाम नपठाई गाउँमै उपचार गरिएको जानकारी दिए । यसअघि जेठ १ गते चितुवाकै आक्रमणमा परी पर्वतकै जलजला गाउँपालिकामा २ पुरुषहरू घाइते भएका थिए ।




