Print

बागलुङमा कोरोना देखिएकी महिलासंग पर्वतका बुद्ध जोडि पनि तिर्थ यात्रा गएका थिए

३० चैत, पर्वत । बागलुङमा थप एक महिलामा द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनी संगै तीर्थयात्राबाट फर्किएका पर्वतका दुई बृद्धाको पनि र्यापिड टेष्ट गरिने भएको छ ।

संगै तीर्थयात्राबाट फर्किएका पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ्गका ७० बर्षिय बृद्ध दम्पतीको पनि सोमबार द्रुत परिक्षण गर्न लागिएको हो ।
संक्रमणको पोजेटिभ रिर्पोट देखिएकी बागलुङ्गको काठेखोला–६ की ६५ वर्षीया महिला संगै बृद्ध दम्पती पनि चैत्र ८ गते तीर्थयात्रा सकेर भारतबाट फर्किएको थियो । भारतबाट फर्किको बृद्ध दम्पती १४ दिन सम्म होमक्वारेन्टाईनमा नै बसेको थियो । शनिबार भारतबाट फर्किएका सबैको द्रुत परिक्षणका क्रममा यो दम्पती भने छुटेको थियो ।

बृद्ध दम्पतीमा रुघा लाग्ने , ज्वरो आउने जस्ता कुनै लक्षण नदेखिएको र स्वस्थ रहेको कुश्मा नगरपालिका वडा नं १ का वडा अध्यक्ष देबेन्द्र सुबेदीले बताए । ‘उनीहरु १४ दिन सम्म होम क्वारेन्टाईनमा नै बस्नु भएको थियो’ उनले भने–‘‘उहाँहरु स्वस्थ हुनुहुन्छ, कुनै लक्षण देखिएको छैन।’ अध्यक्ष सुबेदीले उहाँहरुलाई सोमबार द्रुत परिक्षण गरिने जानकारी दिए ।

उता बागलुङ्गमा र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि अहिले महिलालाई गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको छ। रिपोर्ट पोजेटिभ देखिएकी महिलाको पुनः स्वाब संकलन गरेर थप परीक्षणका लागि पोखरा वा काठमाडौं पठाउने तयारीमा रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए ।

पर्वतमा पनि शनिबार कुश्मा नगरपालिका र फलेबास नगरपालिकामा भारतबाट फर्किका १ सय २ जनाको द्रुत परिक्षण गर्दा नेगेटिभ रिर्पोट आएको थियो । आइतबार देखि पाँच वटा गाउँपालिकामा परिक्षण शुरु भएको छ।