Print

विपद् कोषमा मोदी गाउँपालिकाका कर्मचारी र शिक्षकहरुद्धारा १२ लाख रुपैयाँ सहयोग

२९ चैत, पर्वत । जिल्लाको मोदी गाउँपालिकामा कार्यरत कर्मचारीहरुले गाउँपालिकाको विपद् कोषमा १२ लाख रुपैया सहयोग गरेका छन । गाउँपालिकामा कार्यरत अधिकृत स्तरका कर्मचारी र शिक्षकहरुले ५ दिन बराबर र सहायक स्तरका कर्मचारीहरु र शिक्षकहरुले ३ दिन बराबरको तलब गाउँपालिकाको विपद् कोषमा जम्मा गरेका हुन । गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी बाहेकका सवै कर्मचारीले उक्त रकम विपद् कोषमा सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार चैत महिनाको तलब भुक्तानीमा कट्टा हुने गरी उक्त रकम गाउँपालिकालाई कर्मचारीले सहयोग गरेका हुन ।

विश्व भर फैलिएको कोरोना भाइरसको प्रकोप रोक्नका लागि देश भरका स्थानीय तहहरु सक्रिय भएका छन । मोदी गाउँपालिकाले पनि भाइरसको रोकथाम र नियन्त्रण गर्न शुरु देखि नै विशेष अभियान सञ्चालन गर्दै आइरहेको छ । गाउँपालिकाले जिल्लामा एउटा मात्र हेल्थ डेक्स गाउँपालिकाको डिमुवामा स्थापना गरी निरन्तर त्यहाँबाट स्वास्थ्य परिक्षण गदै आइरहेको छ ।

झण्डै १ हजार भन्दा बढिको संख्यामा उक्त हेल्थ डेक्सबाट विरामीको स्वास्थ्य उपचार भईसकेको छ । गाउँपालिकाले क्वारेन्टाइनको निर्माण गरी शंकास्पद र विदेशबाट आएकाहरुलाई राख्ने प्रवन्ध गरेको छ । गाउँपालिकाले सरकारले घोषणा गरेको राहत वितरण कार्य पनि रोकथाम र नियन्त्रणसंगै अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत क्षेत्री बताउँछन । गाउँपालिकाले जिल्लामा स्थापना भएको कोरोना अस्पतालका लागि समेत सहयोग गरेको छ ।

राहत कोषका लागि ३ लाख रुपैया गाउँपालिकाबाट घोषणा गरेर स्थानीय जनसमुदायहरुलाई समेत राहत कोषमा सहयोग गर्न गाउँपालिकाले यस अघि नै अनुरोध गरीसकेको छ । गाउँपालिकाको अनुरोध बमोजीम झण्डै ३ लाख भन्दा बढि रकम स्थानीयहरुबाट विपद् कोषमा सहयोग गर्ने प्रतिबद्धता समेत प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

राहत कोषमा यस अघि कुश्मा नगरपालिकाका कर्मचारीहले नगरपालिकाको कोषमा १० लाख रुपैया सहयोग गरेका थिए ।