२८ चैत, पर्वत । कोरोना संक्रमीतहरुको खोजी कार्य पर्वतमा तिव्र देखिएको छ । पर्व अस्पतालले कोरोनाका विरामी खोज्ने अभियान नै सञ्चालन गरेको छ । पहिलो चरणमा विरामी भएर अस्पताल आउनेहरुलाई सम्भावित कोरोनाको संक्रमीत मानेको पर्वत अस्पतालले अहिले गाउँ गाउँमा पुगेका विदेशबाट फर्किएकाहरुको स्वास्थ्य परिक्षणको काम गरीरहेको छ । ‘सिमित श्रोत साधनमा पनि हामीले धेरै काम गरेका छौं’ पर्वत अस्पतालका निमिक्त प्रमुख डा. शिशिर देवकोटा भन्छन–‘अवको चरण भनेको परिक्षण, परिक्षण र परिक्षण नै हो ।’
देश भर ९ जना संक्रमीत भेटिए पनि थप सख्या अहिलेसम्म भेटिएको छैन । सरकारले विदेशबाट फर्किएकाले स्थानीय ब्यक्तिलाई पनि कोरोना सारेको भन्दै कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको बताएको छ । पर्वतको सिमानासंगैको जिल्ला बागलुङमा २ जना संक्रमीत भेटिएका छन ।
उनीहको उपचार भईरहेको छ । तर पर्वतमा हालसम्म संक्रमीतको संख्या शुन्य छ । सम्भावित सम्भावितहरुको खोजी कार्यमा भने पर्वत अस्पतालका विशेषज्ञहरुको समूह दिनरात खटिरहेको छ । हालसम्मको नतिजाले भने पर्वतबासीलाई खुशी दिलाएको छ । ५१ जनाको थ्रोड स्वाब संकलन गरेको अस्पतालले फिवर क्लिनिकमा ३ सय २६ जनाको जाँच गरेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले चैत २७ गतेसम्म पर्वतमा ज्वरो जाँच गरेको संख्या ३ सय २६ रहेको जनाएको हो । ज्वरो जाँच हुने विरामीहरुको स्क्रिनिङ तथा ट्राभल हिस्ट्रीको पनि अध्ययन हुने अस्पतालका डा. देवकोटा बताउँछन ।
ज्वरो देखिएका विरामीको स्क्रिनिङ गर्दा कोरोनाको लक्षणसंग मिलेमा थप इन्भिस्टिकेशन हुन्छ । अस्पतालका डाक्टरहरुको भनाई छ । भाइरल रुघा, खोकी ज्वरोका विरामीहरु गत बर्षको तुलनामा पनि अस्पतालमा निकै कम आएको अस्पतालको भनाई छ । ज्वरोका विरामीहरुलाई नीजि अस्पताल तथा क्लिनिकहरुलाई नहेर्न र अस्पतालमै पठाउन अस्पताल तथा स्वास्थ्य कार्यालयले यस अघि नै अनुरोध गरीसकेको छ । जिल्लाका ५५ वटा स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्र तथा एउटा अस्पतालबाट फिवर जाँचलाई तिव्रता दिइएको छ ।




