Print

कोरोना परिक्षणको नमुना संकलन गर्नेमा पर्वत जिल्ला गण्डकी प्रदेशकै दोस्रोमा

२५ चैत, पर्वत । सरकारले लक डाउन घोषणा गरेको दोस्रो साता समेत सकिएको छ । तेस्रो सातामा लक डाउन प्रवेश गरेसंगै गण्डकी प्रदेश भरीमा कोरोना परिक्षणको कार्य तिव्र गतिमा भईरहेको छ । यस अघि केन्द्रिय प्रयोगशालामा ल्याव परिक्षणका लागि स्वाब पठाउनुपर्ने भएपनि गण्डकी प्रदेशको पोखरामा नै अहिले ल्याबको स्थापना भएको छ । योसंगै कोरोना परिक्षण कार्यमा पनि सहजता आएको छ ।

पर्वत जिल्लामा कोरोना भाइरस कोभिड–१९ को परिक्षण कार्यमा स्वास्थ्यकर्मीको मेहनत उच्च देखिएको छ । कोरोना परिक्षणको नमुना संकलन कार्यमा भने पर्वत जिल्ला हालसम्म गण्डकी प्रदेशमा दोस्रो स्थानमा छ । गण्डकी प्रदेशको राजधानी कास्की जिल्लामा कुल ८४ नमुना संकलन गरी परिक्षण गरिएको छ ।

पर्वतमा भने कुल ३२ नमुना संकलन गरीएको छ । यो गण्डकी प्रदेशका अरु जिल्लाको तुलनामा धेरै हो । स्याङजाले हालसम्म ३० जना नमुना संकलन गरी ल्याव परिक्षण गरेको छ भने बागलुङमा १८ वटा नमुना परिक्षण गरिएको छ । यस अघि सरकारले बागलुङमा ¥यापीट टेष्ट गर्ने घोषणा गरेपनि हालसम्म पनि त्यो टेष्ट बागलुङमा शुरु हुन सकेको छैन ।

गण्डकी प्रदेशकै लमजुङमा ११ नमुना संकलन भएका छन भने म्याग्दी जिल्लामा ३ वटा नमुना संकलन भएका छन । गोरखा जिल्लामा २ वटा नमुना परिक्षण सम्पन्न भएका छन । बाँकी मनाङ, मुस्ताङ, नवलपुर र तनहुँ जिल्लामा भने हालसम्म पनि नमुना संकलन गरी ल्याव परिक्षण गरिएको छैन । ल्याव परिक्षण गरिएका मध्ये बागलुङमा २ जनामा संक्रमण पुष्टि भएको छ । बाँकी जिल्लाहरु मध्ये हालसम्म नतिजा आएका १ सय ३० वटा नेगेटिभ रिर्पोट छ भने ४८ वटाको रिर्पोट आउन बाँकी रहेको छ ।