१८ चैत, पर्वत । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरस कोभिड-१९ को संक्रमणका कारण मुलुक दुई साताका लागि लक डाउनको अवस्थामा छ ।
लक डाउनका बेला दैनिक मजदुरी गरेर गुजारा चलाउने परिवार तथा मजदुरहरु विहान बेलुकाको छाक टार्न समस्यामा परेका छन् । यस्तो अवस्थामा जिल्लामै पहिलोपटक पर्वतको महाशीला गाउँपालिकाले विपन्न, गरिब तथा मजदुरहरुका लागि राहत घोषणा गरेको छ ।
मंगलवार सम्पन्न गाउँकार्यपालिकाको वैठकले महाशीलाका ६ वटै वडामा रहेका १ सय ५६ जना परिवारलाई दुई/दुई हजार रुपैया बराबरको राहत उपलव्ध गराउने भएको छ । भोलीदेखिनै सवै विपन्न परिवारहरुलाई वडा कार्यालयले उनिहरुको घर घरमै लगेर दुई हजार रुपैया बराबरको खाद्यान्न सामाग्री वितरण गर्ने भएको छ । दाल, चामल, तेल लगायतका आवश्यक खाद्यान्न वितरण गरिने महाशीला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।
महाशीलामा अन्यत्रवाट आएर विभिन्न विकास निर्माणमा कार्यरत मजदुर भएमा पनि दुई हजार बराबरको राहत सामाग्री दिने गाउँकार्यपालिकाले निर्णय गरेको अध्यक्ष पौडेलले जानकारी दिए। ६ वटा वडा रहेको महाशीलामा १ सय ५६ जना गरिब तथा विपन्नको सूचिमा समावेश रहेका छन् ।
त्यसैगरी वैठकले लुंखुदेउरालीमा रहेको धुँवाकोट महाशीला क्याम्पसमा संचालन गरिएको १५ शैयाको क्वारेन्टाईनलाईनै सिंगो गाउँपालिकाको साँझा क्वारेन्टाईनको रुपमा विकास गर्ने निर्णय गरेको छ । यसलाई आवश्यकता अनुसार क्षमता बृद्धि गर्ने र ६ वटै वडाबाट क्वारेन्टाईनमा राख्नुपर्ने सम्भावित जोखिमका व्यक्तिहरुलाई सोहि क्वारेन्टाईनमा राखिने समेत निर्णय भएको अध्यक्ष पौडेलले जानकारी दिए ।
गाउँपालिका भित्र रहेका सवै खाद्यान्न पसलहरुको अनुगमन गरी आपुर्तिका लागि सहजीकरण गर्ने निर्णय समेत वैठकले गरेको छ । अत्यावश्यक वस्तु आपुर्तिका लागि वडा कार्यालयवाट समेत सवारी पास लिन सकिने व्यवस्था गरिएको छ । त्यसैगरी बृद्ध बृद्धा र दिर्घरोगीहरुलाई नियमीत सेवन गर्ने औषधीको अभाव भएमा पालिकाले औषधि किनेर आपुर्ति समेत गरिदिने भएको छ ।
गाउँपालिकामा वितरण गर्नुपर्ने राहत र सहयोग एकद्धार प्रणालीवाट वितरण गरिने भएको छ । वडा स्तरवाट समेत आपतकालीन राहत कोष संचालनमा आएपनि संकलित रकमलाई एकत्रित गरि एकद्धार प्रणालीवाट वितरण गर्ने निर्णय भएको अध्यक्ष पौडेलले जानकारी दिए ।
त्यसैगरी गाउँपालिका भित्रको आवतजावतलाई कडाई गरिने भएको छ । लक डाउनको अवधिभर पालिकाभित्र भित्रिने र वाहिरीनेहरुको पहिचान गर्नका लागि महाशीला स्वयंसेवकहरुलाई खटाईने भएको छ । पालिकाका सवै नाकाहरुमा स्वयंसेवकलाई खटाएर आवतजावतमा समेत कडाई गरिने समेत वैठकले निर्णय गरेको छ ।




