२१ फागुन, पर्वत । जिल्ला सडक सञ्जालले सम्बृद्ध हुने भएपछि पर्वतबासीको अर्को ठूलो माग थियो । सुविधा सम्पन्न अस्पताल । त्यो माग पनि पुरा हुने भएको छ । सदरमुकाममा ५० शैयाको सुविधासम्पन्न अस्पताल निर्माणको चरणमा छ ।
पछिल्लो समय सरकारले जिल्लाका ५ वटा स्थानहरुमा १५ शैयाको अस्पताल निर्माण गर्ने तयारी गरेको सांसद पदम गिरीले जानकारी दिए । जनताको मागलाई ध्यानमा राखेर संघिय सरकारले जिल्लाका ५ वटा स्थानहरुमा १५ शैयाको अस्पताल बनाउने निर्णय गरेको गिरीको भनाई छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्वतका दुई प्राथमिक स्वास्थ्य केन्द्र र तीन स्वास्थ्यचौकीलाई १५ शैयाको अस्पतालको रुपमा स्तरउन्नती गर्न लागेको हो । पर्वतबासीको माग अनुसार उत्तर दक्षिण क्षेत्रका स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोउन्नती गर्न लागिएको गिरीको भनाई छ ।
मन्त्रालयले यस आर्थिक बर्षमा पर्वतको कुस्मा नगरपालिका स्थित ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्र र तीन स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि १५ शैयाको अस्पताल बनाउने निर्णय गरेको हो । मन्त्रालयले पर्वतको फलेबास नगरपालिकाको देबिस्थान स्वास्थ्य चौकी, मोदी गाउँपालिकाको देउपुर स्वास्थ्य चौकी र पैंयु गाउँपालिकाको हुवास स्वास्थ्य चौकीलाई पनि अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय भएको छ ।
पर्वतको महाशिला गाउँपालिका स्थित लुंखु प्राथमिक स्वास्थ्य केन्द्र गत बर्ष नै अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय भैसकेको थियो ।
‘४ बर्ष भित्र पैयू गाउँपालिकामा सुविधा सम्पन्न अस्पतालको शिल्यान्यास हुन्छ’–सांसद गिरी




