Print

पर्वत प्रहरी घरेलु मदिरा नियन्त्रणमा फेरी सक्रिय

११ फागुन, पर्वत । घरेलु अवैध मदिरा नियन्त्रणको अभियान बेला बेलामा सञ्चालन गर्ने पर्वत प्रहरी पुनः त्यो अभियानमा जुटेको छ । केहि समय अवैध घरेलु मदिरा नियन्त्रण गरी केहि समय विश्राम गर्ने प्रहरीले पुनः कुश्मा बजारमा भित्रबाट अवैध मदिरा नियन्त्रणको अभियान शुरु गरेको हो ।

घरेलु मदिराका कारण घरायसी झै झगडा, सवारी दुर्घटना, लैङ्गिक हिँसाका घटना तथा जघन्य प्रकृतिका घटना घटिरहेको भन्दै प्रहरी मदिरा नियन्त्रणमा सक्रिय बनेको हो । मदिरा उत्पादन र विक्री गर्ने पसलहरुको छिमेकबाट समेत गुनासाहरु आईरहेको भन्दै प्रहरीले अवैध मदिरा नियन्त्रण अभियान सञ्चालन गरेको छ ।

जिल्ला प्रहरी कार्यलयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत अबैध र गुणस्तरहिन घरेलु मदिरा खोजि गरि नष्ट गर्ने अभियानलाई निरन्तरता दिएको प्रहरी निरिक्षक विकास थापाले जानकारी दिए । अभियान अन्तरगत पर्वत कुश्मा न.पा.वडा नं. ४ र ५ को वडा वस्तीहरुबाट झण्डै ४ हजार ५ सय लिटर मदिरा नियन्त्रणमा लिइएको छ । घरेलु मदिरा उत्पादन गर्ने भाडाहरु र कच्चा पदार्थ समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको मदिरा जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरीले नष्ट समेत गरेको छ ।

बेला बेलामा मात्र मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने प्रहरीलाई निरन्तर रुपमा यो अभियान सञ्चालन गर्न महिला अधिकारकर्मीहरुले माग गर्दै आइरहेका छन । कम गुणस्तरको अवैध मदिरा उत्पादन र बिक्रीका कारण धेरै प्रकारका अपराधहरु हुने भएको भन्दै यस्तो अभियानलाई निरन्तर सञ्चालन गर्नुपर्ने अधिकारकर्मीहरुको धारणा रहदै आएको छ ।