Print

पूर्वाधार विकास कार्यालय पर्वतको वित्तिय प्रगति ३१ प्रतिशत, योजनाका कामहरु धमाधम

८ पुस, पर्वत । भौतिक पूर्वाधार निर्माण तर्फ गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयको अर्थबार्षिक वित्तिय प्रगति ३१ प्रतिशत पुगेको छ । कार्यालयका सिनियर डिभिजन इन्जिनियर दयाराम अधिकारीका अनुसार कार्यालयले चालु आर्थिक बर्षमा खर्च गर्नुपर्ने कुल बजेटको ३१ प्रतिशत रकम खर्च भईसकेको हो ।

पर्वत र बागलुङ जिल्लाको भौतिक पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेशले स्थापना गरेको उक्त कार्यालयले दुई जिल्लामा सडक, मोटरेवल पुल र झोलुंगे पुल निर्माण गर्दै आइरहेको छ । गत बर्ष मात्रै स्थापना भएको कार्यालयले चालु बर्षमा प्रदेश मन्त्रालय अन्तर्गतका कुल १ सय ८ वटा योजनाहरु कार्यान्वयन गर्दैछ । यसैगरी संघिय सरकारबाट प्राप्त भएका १४ वटा योजनाहरु समेत कार्यालयले कार्यान्वयन गर्दैछ ।

कार्यालयले एक निर्वाचन क्षेत्र एक सडक, प्रादेशिक सडक क, ख र ग वर्गका त्यसैगरी अन्य साना सडकहरु, मोटरेवल पुल र झोलुंगे पुलको क्षेत्रमा काम गर्दछ । कार्यालय प्रमुख अधिकारीका अनुसार पहिलो चौमासिकको अन्त्यसम्म ठूला आयोजनाहरुको बोलपत्र आब्हान भई निर्माण ब्यवसायीसंग सम्झौता समेत भईसकेको छ । ‘रणनैतिक योजनाका सडकहरुको कामले रप्तार लिएको छ’ अधिकारीले भने–‘निर्माण ब्यवसायीलाई काम समयमा सक्ने गरी वातावरण मिलाउने काम हामीले गरीरहेका छौं ।’

प्रदेश मन्त्रालय मातहतका अन्य जिल्लाका कार्यालयहरुको तुलनामा निकै दू्रत गतिमा कार्यालयले काम गरीरहेको छ । मन्त्रालयबाट प्राप्त अख्तियारीका आधारमा तत्काल डिजाइन स्टिमेट गरी योजनाको निर्माण प्रक्रिया अगाडि बढाएको कारण भौतिक र वित्तिय प्रगति कार्यालयको सन्तोषजनक देखिएको कार्यालयका लेखाप्रमुख गौरब बैरागीले बताए । धेरै योजनाहरु निर्माण ब्यवसायीसंग सम्झौता गरी कार्यान्वयनमा गईसकेको उनको भनाई छ । केहि साना र मझौला योजनाहरुको बोलपत्र आब्हान मात्र बाँकी रहेको उनले बताए । मन्त्रालय मार्फत कार्यालयलाई प्राप्त बजेट सिलिङ भन्दा धेरै बजेटका सडकहरुको समेत कार्यालयले निर्माण कार्य अघि बढाएको छ । मन्त्रालयको सहमतिमा अघि बढेका ति योजनाहरुको भौतिक प्रगतिका आधारमा मन्त्रालयले थप रकम उपलब्ध गराउनेछ ।

प्रदेश मन्त्रालय मातहतका अन्य कार्यालयको तुलनामा पूर्वाधार विकास कार्यालयको प्रगति सन्तोषजनक देखिएको जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेलको भनाई छ । उनले संघ र प्रदेशका कार्यालयका कर्मचारीको काम गर्ने दृढ इच्छा शक्ति भएमा योजनाहरुको कामले गति लिने समेत विश्वास ब्यक्त गरे ।

भौतिक पूर्वाधार विकास जिल्लाको पहिलो आवश्यकता रहेकोले प्रदेश मातहतको कार्यालयलाई जिल्लामा सहज ढङगबाट काम गर्ने वातावरणको सृजना गर्नुपर्ने पौडेलको भनाई छ । पर्वत जिल्लामा १२ वटा ठूला ग्रामीण सडकहरु कालो पत्रे हुँदैछन । यसैगरी ६ वटा मोटरेवल पुलहरु निर्माणको चरणमा गईसकेका छन । भने अन्य साना ३ दर्जन भन्दा बढि सडकहरुको समेत स्तरोउन्नती हुँदैछ ।