९ मंसीर, पर्वत । प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले भारतले नेपाली भूमि माथि गरेको अतिक्रमण सहेर नबस्ने बताएका छन । पार्वती युवा क्लबले मोदी गाउँपालिकाको पातिचौर बजारमा आयोजना गरेको सप्ताहब्यापी कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गिरीले नेपालको भूमिमा भारतले हस्तक्षेप र अतिक्रमण गरे त्यसको प्रतिकार गर्न नेपाली जनता तयार रहेको बताएका हुन ।
भारतले नेपाली भूमिलाई आफ्नो भन्दै नक्सा जारी गरेको विषयमा बोल्दै सांसद गिरी वर्तमान सरकार राष्ट्रियता र अखण्डता कायम गर्न सक्षम र सबल रहेको समेत बताए । उनले भारतको भूमिमा नेपालले आँखा नलगाउने भन्दै कालापानी र लिपुलेक माथिको हस्तक्षेप नेपाली जनताले टुलटुल हेरेर नबस्ने समेत बताए । आगामी १६ गतेसम्मका लागि आयोजना गरिएको कार्यक्रमको उद्घाटन गर्दै सांसद गिरीले वर्तमान सरकारले शुरुवात गरेका आयोजनाहरु दिगो रुपमा सुखी नेपाली सम्बृद्ध नेपाल निर्माण गर्न तर्फ उन्मुख रहेको औल्याए ।
उनले सरकारले सम्बृद्धिको बाटो पहिल्याउनका लागि खानी उत्खनन्, सडक चौडा र विमानस्थलहरुको निर्माण कार्यलाई द्रूत गतिमा अगाडि बढाई रहेको बताउँदै केहि बर्षमा जनताले त्यसको प्रतिफल प्राप्त गर्ने समेत बताए । बालाचतुदर्शीको अवसरमा आयोजीत मेलामा बोल्दै सांसद गिरीले जनप्रतिनिधिको हिसावले पर्वत जिल्लाको विकास समेत आफू निरन्तर लागी परीरहेको बताए ।
केहि बर्षमा मुख्य सडकहरु कालोपत्रे हुने भन्दै सिंचाई र खानेपानीको अभाव हुने ठाउँमा समेत त्यो अभाव पूर्तिका लागि प्रयास भईरहेको जानकारी दिए । उनले जनताले विगत लामो समय देखि बगाएको रगतको बलिदानीका कारण यी सवै खालका विकास निर्माण कार्य गर्न सहज भएको भन्दै अव देशमा राजनैतिक परिर्वतनको नभई विकास र सम्बृद्धिको दिनको शुरुवात भएको औल्याए ।
सांसद गिरीले आजै बालाचतुुदर्शीको अवसरमा मोदी गाउँपालिकाबासीले आयोजना गरेको तोरण तान्ने कार्यक्रममा समेत सहभागी भएका थिए । मोदी खोलामा पूर्वज पितृहरुको स्मरणमा हिन्दू धर्माबलम्बीहरुले तोरण टाँगेर यो पर्व मनाउँदै आएका छन । स्थानीयबासीको भब्य उपस्थितका वीच सांसद गिरी उक्त पर्वमा सहभागी भएका थिए ।




