१० मंसीर, पर्वत । जिल्लाको मोदी गाउँपालिकाले उद्योग दिवसको अवसरमा उद्यमीहरुको भेला गरी दिवस मनाएको छ । मोदी गाउँपालिका भित्रका उद्यमीहरुको भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले साना र ठूला उद्योगहरुको स्थापना गर्दै त्यसबाट उत्पादन बनाउन सवै तहका सरकारले प्रयास गर्नुपर्ने धारणा राखे ।
सांसद गिरीले पालिका भित्रका झण्डै ४ सय उद्यमीहरुलाई सम्बोधन गर्दै गाउँ स्तरमा सञ्चालन भएका लघु उद्यमहरुबाट पनि आम्दानीको श्रोत खोज्न सकिने भएका कारण त्यस्तो कार्यमा लाग्नेलाई सरकारले सहयोग गर्नुपर्ने धारणा राखे । साना तथा घरेलु उद्यमीहरुले उत्पादन गर्ने सामाग्रीहरुको बजारको अझै पनि अभाव रहेको उल्लेख गर्दैै सांसद गिरीले बजार खोज्ने कार्यमा स्थानीय तहहरुले पनि सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महत, प्रवक्ता विमल लामिछाने, घरेलु तथा साना उद्योग विकास समिति पर्वतका कार्यालय प्रमुख गोविन्द पौडेल, पर्वत उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपी अधिकारी लगाएतले उद्योग दिवसको अवसरमा शुभकामना ब्यक्त गरेका थिए ।
मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीले गरेका थिए । कार्यक्रम अघि उद्यमीहरुले ब्यानर सहित डिमुवा र पातिचौर बजारमा ¥याली प्रदर्शन गरेका थिए ।




