Print

करोडौका योजना पर्ने पर्वतमा फेरी पनि लाखका टुक्रे योजना

२५ असार, पर्वत । जिल्लामा भईरहेको विकासको यात्रामा बजेटको अभाव हुन थालेको छ । विगत ४ बर्षको अवधिमा टेक्काद्धारा बनाइएका ठूला आयोजनाका सडकहरुमा बजेट कटौती मात्र भएको छैन् साना र थप टुक्रे योजनाका कारण विकासको गति अघि बढ्न नसक्ने देखिएको छ । पूर्वाधार निर्माणको काम तिव्र गतिमा भइरहेको पर्वत जिल्लामा गत बर्ष र यस बर्ष ठूला आयोजनाहरुको नयाँ काम शुरु हुन सकेको छैनन् ।

पछिल्लो आम निर्वाचनमा जनप्रतिनिधिहरुले गरेका प्रतिबद्धता देखिने गरी पूर्वाधार निर्माणको क्षेत्रमा प्रस्तुत भएका थिए । विगत लामो समयसम्म कच्चि रहेका अधिकांश सडकहरु कालोपत्रेको चरणमा छन् । ठूला खोलाहरुमा मोटरेवल पुल निर्माण कार्य तिव्र गतिमा अघि बढिरहेको छ । देशको चौथो सानो जिल्ला भएर पनि विकासको सुचांकमा पछि परेको पर्वत जिल्लालाई विकासको गतिमा हिडाउने कार्य सरकारले गरिरहेको छ ।

मुख्य गरी जिल्लाका उत्तर देखि दक्षिणसम्मका मुख्य सडक कालोपत्रे, मोटरेवल पुलहरु निर्माण तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माणको कामले तिव्रता लिइरहेको छ । एक घर एक धारा अभियान निकट भविश्यमै पुरा हुने गरी प्राथमिकता साथ आयोजनाहरु निर्माणको चरणमा छन् ।
देशमा राजनैतिक ब्यवस्थाको गतिरोधसंगै सरकारहरु परिर्वतन भएका छन् । संघ र प्रदेश सरकारको नेतृत्व परिर्वतन भएसंगै ति दुरगामी आयोजनाहरुको भविश्य के हुने भन्ने चिन्ताले पर्वतबासीलाई पिरोलीरहेको छ । कतिपय आयोजनाहरु निर्माणकै चरणमा रहेको हुँदा ति आयोजनाहरुमा बजेट अभाव हुने वा बजेटान्तर भएर अर्को शीर्षकमा जाने चिन्ताकै वीच गण्डकी प्रदेश सरकारको आगामी आर्थिक बर्षको बजेट सार्वजनिक भएको छ ।

प्रदेशको बटेमा १० बटा पार्कमा बजेट

प्रदेश सरकारले जारी गरेको बजेटमा पर्वत जिल्ला भर विभिन्न नाउँमा पार्क बनाउने होडबाजी चलेको छ । बजेट अनुसार १० वटा पार्कमा बजेट परेको छ ।

कांग्रेस नेता अर्जुनप्रसाद जोशीका पिता स्वर्गीय अमृतप्रसाद जोशीको नाममा स्मृति पार्क बनाउन २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । अर्का कांग्रेस नेता स्वर्गीय डिल्लिराम लामिछानेको नाममा पनि प्रतिष्ठान बनाउन भनेर गण्डकी सरकारले २० लाख बजेट विनियोजन गरेको छ ।

जिल्ला भर विभिन्न नाउँमा पार्क बनाउनकै लागि लाखौं रकम विनियोजन भएको छ । शहिद हेम गुरुङ स्मृति पार्क विहादी १, मदन पार्क फलेवास ६, मालारानी पार्क जलजला ८, पाङराङ शहिद पार्क, शहिद स्मृति पार्क फलेवास ११, बनौ भ्यू पार्क, शहिद पार्क विहादी १ लगाएतका पार्कमा न्यूनतम ५ लाखका दरले बजेट विनियोजन गरिएको छ ।

३१ वटा मन्दिरमा पैसा

गण्डकी प्रदेश सरकारको सिलिङमा मन्दिर निर्माणकै लागि भनेर जिल्ला भरका ३१ वटा मन्दिरहरुमा बजेट विनियोजन गरिएको छ । मन्दिर गुम्बा निर्माणमा कम्तिमा ५ देखि १० लाखसम्मका आयोजनाहरुमा बजेट विनियोजन गरिएको हो ।

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेट सिलिङले साविक जिल्ला विकास समितिकै झल्को दिएको छ । साना, टुक्रे र विकास निर्माणको फल स्थानीयबासीले ग्रहण गर्न नमिल्ने गरी विनियोजन गरिएका साना योजनाहरुले आफ्ना कार्यकर्तालाई उपभोक्ता समिति मार्फत काम गर्ने र उनीहरुका साना माग सम्बोधन हुने मात्र देखिन्छ । ठूला गौरबका आयोजनामा मार्फत दिर्घकालीन विकास निर्माणको योजना बनाउने कुरामा यस पटक पनि गण्डकी प्रदेश सरकार चुकेको देखिन्छ ।

ठूला आयोजनाहरु निर्माणका लागि बहुबर्षिय नयाँ आयोजना निकै कम मात्र उल्लेख भएका छन् ।